|

म्याग्दी : नदी किनार हुँदै खनिएको मोटरबाटो, वारीपारी अव्यवस्तितरूपमा विस्तार हुँदै गरेको बस्ती तथा बाढीपहिरो र कटानका कारण कालीगण्डकी साँघुरिन थालेको छ। 

मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन भएको र बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिदै गएको सरोकारवालाले बताएका छन्।

धार्मिक,सांस्कृतिक र जैविक महत्त्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासिएको कालीगण्डकी नदीका जानकार पुरुषोत्तम आचार्यले बताए।

बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनी बाढीपहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिक स्वरूपमा परिवर्तन आएको वातावरण दानका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचन बताउँछन्।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुंगा र गेगर कालीगण्डकीमा खसाल्ने गरिएको छ।

कालीगण्डकी नदी वर्षाको समयमा बाढी पहिरो र हिउँदको समयमा अवैध रूपमा ढुंगा,बालुवा निकाल्ने गिरोहका कारण सबैभन्दा बढी मारमा परेको छ। यहाँ सामान्य वर्षा हुँदा पनि ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ। सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङे भीरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागरजीवी उपाध्यायले बताए।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकार बताउँछन्।

डोजर र स्काभेटरले जथाभावि उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ। बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वातावरणविद्ले बताउँदै आएका छन्। 

संकटमा शालिग्राम,तटीय वस्ती जोखिममा

राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला संकटमा परेका छन्।

पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छोडेको मुस्ताङ जोमसोमका यमबहादुर शेरचनले बताए। ‘पहिले पहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर,अहिले विचविचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छ’, उनले भने।

नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय संकट बढेको छ।  नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिरोका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन्। नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताए।

उनका अनुसार कालीगण्डकी नदीको जलचक्र प्रणालीमा समेत परिवर्तन आएको छ। नदीको जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ। कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकुल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ। 

‘तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्म कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको थियो। तर कालीगण्डकीको न त दोहन रोकिएको छ न शालिग्रामको चोरी निकासी नियन्त्रणमा आउन सकेको छ’ कालीगण्डकी संरक्षण अभियन्ता उपाध्यायले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.