|

काठमाडौं : नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्यांकले देखाएको छ। स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडोन्मुख देखिएको हो। 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, पहाडी भेगमा पनि भारतीय र चिनियालगायत विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको छ। भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो संख्या पहाड उक्लँदै गरेको तथ्यले प्रष्ट पार्छ। 

भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन्। सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन्। तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ। 

त्यस्तै हिमाली भेगमा ०.१२ प्रतिशत भारतीय नागरिक अर्थात् दुई हजार ११९ जना रहेका   छन्। चिनिया नागरिकको पहुँच हिमालबाट पहाड उन्मुख देखिन्छ। जसअनुसार हिमाली भेगमा ०.०२ अर्थात् २७७ जना र पहाडमा ०.०१ प्रतिशत अर्थात् एक हजार ४१६ जना चिनियाभेटिएका छन्। तराईमा पनि पछिल्लो समय १८९ जना चिनियाँ नागरिकको उपस्थिति पाइएको छ। तेस्रो मुलुकका एक हजार ६२९ जना पहाडमा रहेको भेटिएको छ। देश नखुलेका विदेशीको पहुँच पनि पहाडमा बढेको छ। 

विदेशी नागरिक शरणार्थीका रूपमा वा वैध, अवैध रूपमा नेपालमा बसोबास गरिरहेको पाइएको हो। नेपालमा कुल जनसंख्यामध्ये ०.४७ प्रतिशत विदेशी नागरिक रहेको जनगणनाको अन्तिम निष्कर्षमा उल्लेख छ। जसमध्ये सबैभन्दा धेरै ०.४६ प्रतिशत भारतीय नागरिकको बसोबास नेपालमा रहेको खुलेको छ। त्यस्तै ०.०१ प्रतिशत चिनिया र ०.०१ प्रतिशत देश नखुलेका नागरिक रहेको तथ्यांक विभागले जनाएको छ। तथ्यगत रूपमा विवरणमा नसमेटिएका सङ्ख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ। 

त्यस्तै सीमा नाका जोडिएको छिमेकी देश चीनबाट पनि नेपालमा बस्नेहरूको सङ्ख्या बढ्न थालेको पाइएको हो। सङ्ख्यागत रूपमा हेर्दा नेपालमा एक लाख ३२ हजार ७८१ जना भारतीय नागरिकको बसोबास छ। चिनिया नागरिकको पहुँच सङ्ख्या पनि बढ्दो रूपमा देखिएको छ। जसअनुसार एक हजार ८८२ जना चिनियाँ नागरिक नेपालमा रहेको पाइएको छ। सार्क बाहेकका मुलुकका ५८० जना नेपालमा रहेका छन् भने नखुलेका देशका पनि एक हजार ९७५ जना छन्। विदेशी तर विवरण नखुलेका १८९ जना छन्। 

सबैभन्दा बढी विदेशी नागरिक बागमती प्रदेशमा भेटिएका छन्। कार्यालयले सार्वजनिक गरेअनुसार यहाँ ४८ हजार ३६१ जना अर्थात् ०.७९ प्रतिशत भारतीय नागरिक छन्। त्यसपछि मधेश प्रदेशमा २७ हजार ३०७ जना, गण्डकी प्रदेशमा १२ हजार ३२१ जना र सुदूरपश्चिममा छ हजार ४०१ भारतीय नागरिक भेटिएका छन्। बागमतीमा भारतीयबाहेक ०.०२ प्रतिशत चिनिया नागरिक देखिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.