|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि गठबन्धन दलमा मन्त्रालय भागबण्डाको प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले कांग्रेससँगको पुरानो गठबन्धन बिउँताएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। नेकपा माओवादी केन्द्रको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले भोलि मन्त्रालय भागबण्डाको प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्।

प्रचण्डले आफ्नो प्रस्तावमा गठबन्धन सहमत हुने र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए। दशदलीय गठबन्धनका शीर्ष नेताहरूले नै प्रचण्डलाई छुट्टाछुट्टै भेटेर प्रस्ताव गर्न भनेकाले केही दिन लम्बिएको पौडेलले बताए।

बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलगायतलाई छिटो पारित गर्ने र अन्य कानुन पनि बनाउने बारेमा छलफल भएको उनले बताए।

यसैगरी सरकार र पार्टीलाई जोडेर लैजाने विषयमा कुरा भएको उनले स्पष्ट पारे।

काँग्रेस सरकारमा जाने

यसैगरी नेपाली कांग्रेस सम्मानजनक संख्याका साथ सरकारमा जाने भएको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिट्टै सरकारमा सहभागी हुने निर्णय गरेको हो।

कांग्रेसले ८ वटा मन्त्रालयमा दाबी गर्दै अडान लिएको छ। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषद्‌मा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनुपर्ने बताए।

कांग्रेसले पाउने संख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुंगो लागेपछि नाम पठाउने प्रवक्ता महतले जानकारी दिए।

त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न पर्सि सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.