काठमाडौं : अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टीभित्र पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणाको हेपाइ सहन नसकेर पार्टी छोडेको बताएका छन्।
‘हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो’‚ उनले भनेका छन्, ‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।’
वाग्लेले कांग्रेसभित्र शेखर कोइरालाहरूको निर्णायक हैसियत बनेको दिन आफू फेरि कांग्रेसमा फर्किने बताएका छन्।
‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’‚ उनले भनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।