|

काठमाडौं : चावहिल महांकालका सृजन त्रिपाठीलाई गत शुक्रबार मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लियो। उनी सुकेधारा ट्राफिक प्रहरीकै कार्यालयमा मोटरसाइकल राखेर ट्याक्सीमा घर जान बाध्य भए। भोलिपल्ट ट्राफिक प्रहरीले दिने एक घण्टाको चेतना कक्षा र एक हजार तिरेर लाइसेन्स लिनका लागि पुग्दा उनले न त चेतना कक्षामा भाग लिन पाए न त लाइसेन्स नै। 

उनी पटक-पटक गरेर छैठौं पटक मापसेको कारवाहीमा परेका रहेछन्। ५ पटक मापसे कारवाहीमा परेका त्रिपाठीले छैठौं पटकको कारबाहीमा लाइसेन्स नै निलम्बनमा पर्न लागेपछि भने ट्राफिक प्रहरीसँग माफी मागिरहेका थिए। ५ पटकपछि लाइसेन्स नै निलम्बनमा पर्छ भन्ने थाहा हुँदा पनि उनले के हुन्छ र भन्ने सोचाई राख्दा नै छैठौं पटकको कारबाहीमा पर्दा लाइसेन्स नै निलम्बनमा पर्ने भएको छ।

६ पटकसम्म कारवाहीमा पर्ने त्रिपाठी मात्र एक्ला भने होइनन्। उनी जस्तै ५ पटक लाइसेन्स प्वाल परेर छैठौं पटक मापसे कारवाहीमा पर्ने १ सय ६१ जना छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ६१ जनाकै लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइसकिएको ट्राफिक प्रहरी प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए।

‘५ पटक प्वाल पारेपछि छैठौं पटक लाइसेन्स नै निलम्बन हुन्छ भन्ने सबै चालकलाई थाहा छ तरपनि  लापरवाही गरेर हो वा के हो नचेतेपछि त कानुन अनुसार कारवाही गर्नै पर्‍यो’, डिआईजी अर्याल भन्छन्, ‘यो अवस्था हेर्दा त कारवाही कम भएको हो कि जस्तो लागेको छ। यस्तो नचेत्ने सवारी चालकलाई लाइसेन्स नै दिन हुँदैन।’

अधिकांश चालकहरु एक/दुई चोटी कारवाहीमा परेको भएपनि त्यसपछि सचेत भएर मापसे गरी सवारीसाधन नचलाउने गरेको पनि उनले जानकारी दिए। लाइसेन्स निलम्बनमा परेपछि उनीहरुले अब ६ महिनासम्म लाइसेन्स नै पाउने छैनन् भने नयाँ लाइसेन्स लिँदा पनि लाइसेन्स लिने प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ। मापसे विरुद्धको कारवाही चलाएको झण्डै एक वर्ष हुन लाग्दा पनि मापसे गर्नेहरुको संख्या उस्तै भएपछि लाइसेन्स खारेजी गर्ने तयारी ट्राफिक प्रहरीले गरेको थियो। २०६८ मंसिर १७ गतेबाट ट्राफिक प्रहरीले मापसेविरुद्वको अभियान सुरु गरेको थियो।

के छ कारवाहीको प्रक्रिया ?

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा ट्राफिक प्रहरीले कारवाही गर्ने गर्दछ। सामान्यतया बेलुकी ७ बजेदेखि राती ११ बजेसम्म ट्राफिक प्रहरीले सम्भावित स्थान पहिचान गरी चेकजाँच गर्ने गरेको छ। ट्राफिक प्रहरीले कहिले नजिकै मुख लगेर 'आराम हुनुहुन्छ' भनेर मुख सुध्ने प्रयास गरेर मापसे गरेको छ कि छैन भनेर चेक गरिरहेको हुन्छ भने कहिले ब्रेथलाइजर मेसिन नै प्रयोग गरेर मापसे गरेको छ कि छैन जाँच गर्ने गर्दछ। 

पछिल्लो समयमा छड्के जाँच भन्दै ट्राफिक प्रहरीले बिहान, दिउँसो र बेलुकी छुट्टाछुट्टै समयमा चेकजाँच गर्ने गरेको पनि छ। मापसे गरेर सवारी चलाएको फेला परेपछि ट्राफिक प्रहरीले तत्काल नै सवारीसाधन र लाइसेन्स नियन्त्रणमा लिने गर्छ।

मापसे कारबाहीमा परेका व्यक्तिलाई ट्राफिक प्रहरीले मापसे नगरेको व्यक्ति बोलाउन सक्ने अवस्था छ भने मापसे गरेको व्यक्तिको लाइसेन्स लिएर मापसे नगरेको व्यक्तिलाई सवारीसाधन भने जिम्मा लगाउने व्यवस्था गरेको छ। मापसे गरेर सवारी चलाएको बेला ट्राफिक प्रहरीको फन्दामा परियो भने १ हजार रुपैयाँ र १ घण्टाको चेतना कक्षा लिनुपर्ने हुन्छ। आफन्तको जिम्मा लगाएर मात्र ट्राफिक प्रहरीले छोड्ने गरेका छ। जति चोटी मापसे कारवाहीमा परेको छ, त्यत्ति नै पटक ट्राफिक प्रहरीले लाइसेन्समा प्वाल पार्ने गर्दछ।

५ पटकसम्म लाइसेन्स प्वाल पार्दासम्मको कारवाही प्रक्रिया एउटै हुन्छ, तर छैठौं पटक मापसे गरेर सवारीसाधन चलाउने व्यक्तिको लाइसेन्स निलम्बनको प्रक्रिया सुरु हुन्छ। सार्वजनिक सवारीसाधन चलाउनेहरुको हकमा भने ट्राफिक प्रहरीले सार्वजनिक मुद्दा चलाउनुका साथै २८ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ।

ब्रेथलाइजर मेसिनले कसरी काम गर्छ ?

मादक पदार्थ सेवन गरेपछि मादक पदार्थ आन्द्राबाट सोसिएर रगत हुँदै फोक्सोमा पुग्छ, त्यसको गन्ध सासबाट बाहिर निस्कने गर्दछ। सासको आधारमा अल्कोहलको मात्रा जाँच गर्ने गरिन्छ। वैज्ञानिक तथ्य अनुसार २१०० मिलिलिटर सासमा भएको अल्कोहलको मात्रा १ मिलि रगतमा भएको अल्कोहलको मात्रासँग बराबर हुन्छ। जाँच गरिने व्यक्तिलाई २ देखि ४ सेकेन्ड मेसिनमा फुक्न लगाइन्छ।

केमिकल रियाक्सनको आधारमा हुने रंग परिवर्तनको मात्रालाई विश्लेषण गरेर सासमा भएको अल्कोहलको मात्रा अर्थात् रगतमा भएको अल्कोहलको मात्रा टुंगो लगाइन्छ।

यन्त्रभित्र सल्फ्युरिक एसिड, पोटासियम, डिक्रोमेट, सिल्भर नाइट्रेट र पानी राखिएको हुन्छ जसमा सल्फ्युरिक एसिडले सासबाट अल्कोहल छुट्टाउने काम गर्दछ, सिल्भर नाइट्रेटले उत्तेजकको काम गर्दछ भने पोटासियम डिक्रोमट र अल्कोहलको रियाक्सन हुने क्रममा पहिले भएको सुन्तला रंग हरियो रंगमा बदलिन्छ। जति कडा मात्रा भयो उति हरियो रंगको गाढापन बढी हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.