|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिँदै छन्।

मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसे पनि सहमतिमा ढिलाइ हुँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो। 

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको सचिवालयले जनाएको छ। 

गठबन्धनको बैठक चलिरहेकै वेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रममा सहभागी हुन गएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार शुक्रबार बिहान एक चरण बैठक बस्नेछ। त्यसपछि मन्त्री र मन्त्रालय चयनलाई अन्तिम रूप दिइनेछ। त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ। 

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन गृहकार्य अघि बढाए साँझसम्म केही कुरामा साझेदार सहमति हुन नसकेको उनको निजी सचिवालयले जनाएको छ । केही बुँदामा सहमति हुन नसकेपछि प्रचण्डले बिहीबार साँझ बालुवाटारमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.