|

काठमाडौं : नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन्।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो। 

त्यसैगरी तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन तथा यारी–पुलाङ क्षेत्रबाट यात्रु आवागमन भने आगामी वैशाख १८ गतेदेखि सञ्चालन गर्ने सहमति भएको छ । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्ने सहमति जनाएको  छ।

नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल पक्षले गर्ने पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ। चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन पनि दिएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ। 

नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले संयुक्त अध्यक्षता गरेको बैठकमा सीमापार व्यापार र जनसम्पर्कलाई अधिकतम स्तरमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। यस्तै भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ।

नेपाली खासा जान पाउने

सिन्धुपाल्चोकबाट प्राप्त समाचारअनुसार भूकम्पपछि तिब्बतले खासा बजारलाई पुनर्निर्माण गरी अझ व्यवस्थित र आकर्षक बनाएको छ।  

खासा बजार साँघुरो भएको र अरू कारणले नेपाली कन्टेनरलाई खासा प्रवेश भने नगराउने चिनियाँ पक्षको तयारी छ । नेपाली पक्ष भने खासा बजार पुगेर सामान खरिद गर्न पाउने प्रबन्ध मिलाउने पक्षमा लागेको छ। चीन सरकारले खासालाई पर्यटकीय हब बनाउने योजनाअनुरूप पर्यटकलाई प्रवेशाज्ञा दिने भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.