|

इस्‍लामाबाद : पाकिस्तानमा उत्पन्न आर्थिक संकटको प्रभाव अहिले हरेक क्षेत्रमा देखिएको छ। ठूलो संख्यामा पाइलटहरूले देश छोडेका पाकिस्तानको संसद्को उड्डयन समितिलाई जानकारी दिइएको छ।

आफ्नो तलबमा ठूलो कटौती हुने डरले उनीहरू त्रासमा छन्। पाकिस्तान सरकारले पाइलटहरूलाई पारिश्रमिकमा ३५ प्रतिशत कर लगाएको छ। यसबाट पाइलटहरू असन्तुष्ट भएका छन्।

पाकिस्तान इन्टरनेशनल  एयरलाइन्स (पीआईए) का सीईओ अमिर हयातले हालै १५ जना पाइलटले देश छाडेको बताएका छन्।

हयातले पीआईएले नयाँ पाइलट भर्ती गर्न चाहेको तर स्वीकृति नपाएको गुनासो गरेका छन्। समितिका अध्यक्ष सिनेटर हिदायतुल्लाले पाइलट बन्ने सपना देख्नेहरूको भविष्य संकटमा पर्न सक्ने बताए।

उनले पाकिस्तानी सांसदहरूलाई यो करको सम्पूर्ण विषय सरकारी नियामक निकायमा उठाउन अपिल गरे। नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई हवाई क्षेत्र नदिएको कारणबारे सिनेट समितिलाई जानकारी गराइएको थियो ।

पाकिस्तानले धेरै विदेशी एयरलाइन्स कम्पनीहरूको डलर रोकेको छ। आफूसँग डलर सञ्चिति नभएको भन्दै विदेशी वायुसेवाको डलर लान दिएको छैन।

त्यसैले विदेशी वायुसेवाले पाकिस्तानी ग्राहकलाई डलरमा टिकट किन्न आग्रह गरिरहेका छन्। यात्रुहरूले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर टिकट खरिद गरिरहेका छन्। जसका कारण उनीहरूले पाकिस्तानमा किनेको टिकटभन्दा कम मूल्यमा टिकट पाउँदै आएका छन्।

पाकिस्तानले गरिबी घटाउन भन्दै हवाई टिकेटमा अत्यधिक कर बढाएको छ। यति मात्र होइन, समितिको बैठकमा पीआईएका १४१ पाइलटको लाइसेन्स पनि शंकास्पद रहेको खुलासा भएको छ।

यसअघि पाकिस्तानका धेरै पाइलटले पैसा तिरेर विमानचालकको लाइसेन्स लिएको खुलासा भएको थियो। यसपछि धेरै पाइलटको उडानमा प्रतिबन्ध लगाइएको थियो।

यसै क्रममा पाइलटको नक्कली डिग्रीको मुद्दा पनि उठ्यो। पीआईएले धेरै पाइलट नक्कली डिग्रीसहित पक्राउ परेको र उनीहरूलाई बर्खास्त पनि गरेको बताएको छ।

यसै क्रममा पाकिस्तानको सरकारी वायुसेवा पीआईएले अर्बौं रुपैयाँको बक्यौता तिर्न बाँकी रहेको खुलासा भएको छ।

पाकिस्तान आउने उडान खाली हुने र देश छाड्नेको संख्या लगातार बढिरहेको खुलासा भएको छ। उनीहरूले पाकिस्तानमा आफ्नो भविष्य राम्रो नदेखेको बताउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.