|

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारले गति लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण गरिसकेको छ। हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ।

बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भईरहेको आयोजनाले जनाएकोे छ। आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटानको अनुमति नदिँदा विस्तारको काममा समस्या उत्पन्न भएको थियो।

पहिलो चरणमा टावर निर्माण गरिनेछ भने दोस्रो चरणमा तार तान्ने, सबस्टेशन निर्माणलगायत काम गरिने आयोजनाले जनाएको छ। सुर्खेतसहित कर्णालीका १० वटै जिल्लाको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तार निरन्तर अघि बढेको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए।

उनले रफ्तारमा कुनै अवरोध बिना काम अगाडि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने बताए। प्रमुख चौधरीका अनुसार प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १ सय ६२ वटा टावर निर्माणको भइरहेका छन्। 

यसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। प्राधिकरणका प्रमुख चौधरीले प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख काट्नुपर्ने बताए। यीमध्ये केही रुखहरु काटिसकिएका छन्।

आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेंसी नगरपालिकासहित बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छन।

प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वनको क्षेत्र, १६ दशमलव १३५ खेतीयोग्य जमिन, २ दशमलव २६५ बाँझो जमिन तथा ११ दशमलव ०६५ अन्य भागले ओगटेको छ। विद्युत प्रसारण लाइन कार्यान्वयनका लागि निजी, सामुदायिक तथा सरकारी वन क्षेत्र गरी कूल जग्गाको क्षेत्रफल २२५ वर्गमिटर हुनेछ। 

९८ दशमलव.०५७९ हेक्टर जग्गा टावर निर्माण, सब–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ। जसमध्ये ३ दशमलव ७२४९ हेक्टर स्थायी रूपमा सब-स्टेसन निर्माणमा र ३ दशमलव ३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण हुनेछ भने बाँकी ९१ दशमलव ०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ।

प्रसारण लाइन बाँकेको कोहलपुर सब–स्टेसनबाट सुरू भई सुर्खेतको सुब्बाकुना सब-स्टेसनमा पुगेर टुङ्गिनेछ। यही विद्युत जाजरकोट हुँदै डोल्पा र सुर्खेत-दैलेख हुँदै कालिकोट र जुम्ला पुर्‍याइएको छ।

अन्य ठाउँमासमेत विद्युत प्रशारण लाइन निर्माण तीव्र पारिएको छ। अहिले कर्णालीले नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पाएको छ। सुर्खेतसम्म १३२ केभीको लाइन निर्माण पूरा भएमात्र अन्य जिल्लामा उक्त प्रशारण लाइनको निर्माण सुरु गरिनेछ।

जगदुल्लाको विद्युत खरिद गर्न प्राधिकरणसँग सहमति

डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनाको १०६ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणले विद्युत खरिदबिक्री गर्ने सहमति भएको छ। चैत १९ गते भएको उक्त सम्झौताअनुसार विद्युत खरिदबिक्री गर्न सहमत भएको सहमति पत्रमा उल्लेख गरिएको छ।

अहिले आयोजना स्थलमा सडक, पुल तथा भवन निर्माण भइरहेको छ। उक्त निर्माण गर्न चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको आयोजनाका प्रोजेक्ट सञ्जय सापकोटाले बताए।

जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी व्यवस्थापनका लागि एक महिनाभित्र सम्झौता हुने सापकोटाले बताए।

सापकोटाले निफ्राको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरिसकेको बताएका छन्।

‘बैक तथा वित्तीय संस्थाले कुल लगानीको ७० प्रतिशत अर्थात् १६ अर्ब ९२ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ,’ उनले भने, ‘बाँकी ७ अर्ब २५ करोड रूपैयाँ स्वपुँजी जुटाइनेछ।’ आयोजना सम्पन्न गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रूपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ।

आयोजनाको निर्माण आगामी आव ०८०/८१ देखि निर्माण सुरु गर्ने लक्ष्यसहित काम भइरहेको छ। अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक खोल्ने काम भइरहेको छ।

पहुँचमार्ग पूरा हुनासाथ आयोजनाको सिभिल संरचना निर्माण सुरु हुनेछ। आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

आयोजनाका लागि आवश्यक जग्गामध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा घरटहराको अधिग्रहण गरी सम्बन्धित जग्गाधनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए।

दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा छ। वातावरणीय अध्ययनअन्तर्गत टिओआर तथा स्कोपिङ मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाइ गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा पेस गरिएको छ। प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

आयोजना निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ। आयोजना निर्माण भई सञ्चालनमा आउँदा वार्षिक ६२३ दशमलव ४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ।

वर्षामा ४३० दशमलव २३ गिगावाट घन्टा र हिउँदमा १९३ दशमलव २४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। यही कम्पनीले ८२ दशमलव ३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पनि अघि बढाएको छ।

जगदुल्ला जलविद्युत आयोजना निमाण गर्न त्रिवेणीस्थित भेरी नदीको पुल बाधक देखिएको छ। २ वर्षअगाडि क्याराभान कन्स्ट्रक्सनले लिएको ठेक्का आयोजना निर्माण हुने समयमा कामै नगरी अर्कालाइ बिक्री गरेपछि आयोजनासम्म जान र आउन समस्या हुने भएको छ। २ वर्षमा त्रिवेणीमा सामान्य कामबाहेक केही पनि भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.