विराटनगर : एसएलसी उत्तीर्ण गरेपछि प्राविधिक बन्ने ध्याउन्नले उनलाई गाउँबाट शहरतिर तान्यो। घण्टौं हिँडेर स्कुले जीवनबाट कलेजतिर लम्किएका उनी ०५३ सालको एसएलसी सकेलगत्तै सब-इन्जिनियर अध्ययनका लागि बिर्तामोड हानिए।
उनलाई प्राविधिकमात्र बन्नु थिएन, गीत गाएर आफूलाई कला क्षेत्रमा परिचित गराउने चाहना पनि मनको एउटा कुनामा सल्बलाइरहेको थियो। सब-इन्जिनियरको अध्ययन गरे पनि गायक बन्ने सपना भने अधुरै रह्यो। जीवनमा आइपरेका विविध परिस्थितिले फेरिएको उनको यात्रा अहिले व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा रहेका उनी हुन्- इलामको सूर्योदय नगरपालिका– १४ ठूलो बर्दुका बुद्धभूषण योञ्जन।
आफू जन्मेर हुर्केको माटोमा स्वर्णिम भविष्य खोजिरहेका उनी होराइजन बर्दु भ्याली टी इन्डस्ट्रिजका सञ्चालक हुन्। उनको परिचय एउटा उद्योगीको मात्र नभएर खेलकुद फोटो पत्रकारितामा आफ्नो छुट्टै छाप छाडेका छन्।
प्राविधिक र कलाकार बन्ने सपना सजाएर हिँडेका उनको यात्रा ०५२ सालमा शुरु भएको माओवादी सशस्त्र द्वन्द्वको समयमा परिवार विस्थापित भएसँगै उनका सपना पनि विस्थापित भएका थिए।
गाउँको घरबाट माओवादीले पैतृक सम्पत्ति लुटेपछि एसँगै उनको परिवार विस्थापित हुनुपरेको उनले सुनाए ।
‘द्वन्द्वका वेला घर लुटिएपछि सपनामा पनि चोट लाग्यो, त्यही दिनबाट मेरो संघर्षको यात्रा सुरु भयो‚’ उनले सुनाए, ‘सब-इन्जिनियरको पढाई सकेर गायक बन्ने रहरले काठमाडौं पुगेँ तर परिवारमा भएको बज्रपातसँगै मेरो यात्रा अर्कैतिर मोडियो।’
परिवारको जिम्मेवारी र आफू बाँच्नका लागि काठमाडौंमा ट्याक्सी चलाएर यात्रु र तिनको गन्तव्य खोजिरहँदा आफ्ना सपना साकार नभएका धेरै तिता अनुभूतिहरु उनले सँगालेर राखेका छन्।
७ महिनासम्म ट्याक्सीचालक भएर काम गर्दाका तितामिठा अनुभूतिसँगै अप्ठ्यारोसँग बाँचेको जीवन यात्रा काठमाडौंमा नै एउटा प्रोजेक्टमा पुगेर रोकियो। उनको जागीरे जीवन राम्रैसँग चलिरहेको थियो तर उनको जीवनले फेरि एक्कासी नयाँ मोड लिन्छ भन्ने कल्पनासमेत उनले गरेका थिएनन्।
०६८ कात्तिक ३ गते उनले आफ्नो परिवारको प्रिय पात्र गुमाए। अर्थात कान्छो भाइको सवारी दुर्घटनामा मृत्यु भएसँगै उनको जीवनले अर्कै मोड लिन पुगेको उनले बताए।
भाइको वियोगमा विक्षिप्त बनेका बुवाआमाको खुशीका लागि जागीर छोडेर आफ्नै माटोमा केही गर्ने भन्ने सोचले चियासँग साइनो जोड्न पुगेको उनले सुनाए।
आफ्नै माटोमा पसिना बेचिरहेका उनी आफूले उत्पादन गरेको चिया नेपालको बजारमा मात्र नभएर विश्व बजारमा समेत निर्यात गर्ने गरेका छन्। करिब २२ हजार केजी चिया उत्पादन गरेर उनले देशैभर आफ्नो ब्राण्ड विस्तार गर्न सफल भएका छन्।
उनका अनुसार उनको उद्योगले उत्पादन हुने चियाका ब्राण्डमा गोल्डेन टी, ह्वाइट टी, नर्मल, अर्थाेडक्स ब्ल्याक टी रहेका छन्। तीमध्ये बर्दु भ्याली गोल्ड मुख्य ब्राण्ड बनाएर बजारमा बिक्री वितरण गर्दै आइरहेको उनले बताए।
२२ हजार केजीमध्ये नेपाली बजारमा ३५ सय किलोमात्र बिक्री वितरण गर्दै आइरहेको बताउने उनी बाँकी सबै चिया विदेशमा निर्यात हुने गरेको बताउँछन्।
‘नेपाली बजारमा अझै पनि चिया भनेको दूध, चिनी हालेर बनाइएकोलाई मात्रै बुझ्ने गरेको पाइन्छ, पुरानै शैलीको चिया पिउनेको संख्या धेरै भएकाले पनि हामीले उत्पादन गरेको चिया नेपाली बजारमा थोरै बिक्री हुने गरेको छ‚’ उनले भने, ‘तर पछिल्लो समय विस्तारै सबैले बुझ्दै जानुभएको छ‚ यसको विशेषताको बारेमा।’
बजारमा अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि आफूले उत्पादन गरेका चियामा गुणस्तर दिन सकेकाले बजारमा माग बढेको उनी बताउँछन्। उपभोक्ताको स्वास्थ्यलाई ख्यालमा राखेर कुनै पनि विषादी प्रयोग नगरी चिया उत्पादन गर्ने गरेको बताउँदै उनले भने, ‘यसमा म आफैं खटिरहेको हुन्छु।’
‘अरुले कस्तो उत्पादन गर्छ भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि हामी गुणस्तरमा फोकस गर्छौं, उपभोक्ताको स्वास्थ्यलाई ख्यालमा राखेर चिया उत्पादन गर्दै आइरहेका छौं,‘ उनले भने, ‘गुणस्तरीय उत्पादन नै हाम्रो विशेषता हो।’
‘कामदार पाइँदैनन्’
पछिल्लो समय वैदेशिक रोजगारीमा युवाहरुको बढ्दो आकर्षणसँगै उद्योगमा कामदार अभाव रहेको उनी सुनाउँछन्। कामदारको अभावले उद्योग सञ्चालनमा केही चुनौती बढ्दै गएको समेत उनको अनुभव छ।
‘गाउँका युवा वैदेशिक रोजगारीमा जाने क्रेज बढेसँगै उद्योगमा कामदार अभाव हुन थालेको छ,¹ उनी भन्छन्, ‘रेडियो एफएमको विज्ञापनले पनि युवालाई विदेशिन प्रेरित गर्ने रहेछ, गर्न सके यहीँ राम्रो कमाई छ।‘
नेपाली चिया विश्व बजारमा चिनाउन सकस
नेपाली चियालाई विश्व बजारमा परिचित गराउन निकै सकस हुने गरेको उनी सुनाउाछन्। विश्व बजारमा दार्जिलिङ चियाले नेपालको चियालाई असर गरेको बताउने उनी यसका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिन्छन्।
उत्कृष्ट हावापानी, उर्वर माटोमा उम्रिएको चियालाई नेपालले विश्वमा बजारीकरण गर्न नसक्नु कतै राज्य पक्षबाट पनि केही कमी कमजोरी भएको उनी बताउँछन्।
‘दार्जिलिङको चियाभन्दा नेपालको चिया उत्कृष्ट हुन्छ, उचित हावापानी उत्पादनको हिसाबले ३० देखि ४० वर्षसम्मको मात्र छ। दार्जिलिङमा २ सयदेखि डेढ सय वर्षको पुरानो बोट छ,‘ उनी भन्छन्, ‘नेपालमा विषादी प्रयोग गर्दैनौं तर पनि विश्व बजारमा हामी डोमिनेट छौँ, यसमा जबसम्म सरकारको तर्फबाट नीतिगत रुपमा ठोस काम हुँदैन तबसम्म चुनौती छ।’
नेपाली चिया सस्तोमा किनेर दार्जिलिङ ब्राण्ड दिने गरिएको बताउँदै उनले नेपाली चियाको स्वाद र क्वालिटी दुवै उत्कृष्ट हुने दाबी छ। उनी भन्छन्, ‘नेपालमा ६५ लाख केजी प्रति वर्ष चिया उत्पादन हुन्छ त्यो कहाँ जान्छ त?’
उनी आफूले उत्पादन गरेको चिया भारतीय बजारमा बिक्री गर्दै आइरहेका छन् भने कोभिडअगाडि अमेरिकामा पनि आफ्नो ब्राण्ड बिक्री गर्न सफल भए। कोभिडपछि बिस्तारै लयमा फर्किंदै गरेको चिया व्यवसाय गरेको र आफ्नो ब्राण्ड विश्व बजारमा पुर्याउने लक्ष्य रहेको उनी सुनाउँछन्।
परिवारको बलियो साथ
हजुरबुवा थरी जमानसिंह तामाङले सुरु गरेको चिया खेतीमा आफ्नै सन्तानले मलजल गरोस् भन्ने उनको बुवाआमाको सपना रहेको र त्यही सपना पूरा गर्न पनि आफू अहिले प्रतिबद्ध भएर लागेको उनी बताउँछन्।
‘भाइ गुमाउँदाको पीडा छँदैछ तर यही माटोमा बस्न मेरो आपा र आमाको सपना थियो,’ उनी भन्छन्, ‘आमा त अहिले हामीबीच हुनुहुन्न, आपा भने साथै हुनुहुन्छ। उहाँहरुको सपना मर्न दिनुहुँदैन भन्ने लागेर पनि म यहीँ दुःख गरिरहेको छु।’
बाल्यकालदेखिको चियासँगको साइनो व्यवसायसम्म डोहोर्याउन खोज्दा जीवनमा धेरै संघर्षका जँघार तर्नु परेको उनले सुनाए। भएको पैतृक सम्पत्ति लुटिएर शून्य हुँदा र आफूलाई त्यहाँबाट उठाउँदा धेरै रात अनिँदो बिताएका छन् उनले अनि ०६९ सालमा गाउँ फर्किए उनी।
‘पढाई फरक छ, आफूले रोजेको पछिल्लो पेसा फरक छ। समयसँगै दौडिनुपर्ने रहेछ मानव जीवन,’ उनी भन्छन्, ‘तर म उद्योगी बनेर पनि खुशी नै छु, आपाआमाको सपना पूरा गरेको छु।’
जीवनमा अनेकन दुःख बेहोर्दा पनि कहिल्यै विदेशिने सोच नआएको बताउने उनले अहिले आफ्नो चिया उद्योगमा १० जनालाई रोजगारी दिएका छन् भने बगानमा गाउँका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेका छन्।
आफ्नो काममा लगाव भए जिरोबाट पनि उठ्न सकिने बताउने उनी परिवारको दर्बिलो साथ नभए सफलता प्राप्त गर्न नसकिने बताउँछन्। आफू शून्य हुँदा पनि आपाआमा र श्रीमतीको बलियो साथले थप हौसला मिलेको उनी सुनाउँछन्।
‘मलाई दुःख पर्दा आपाआमा, श्रीमतीको साथ पाए अहिले जेठा छोराले पनि व्यापारमा साथ दिँदै आएको छ, सानो छोरा पढ्दैछ। परिवारको साथले पनि मैले केही गर्न सकेको हो,’ उनले भने, ‘अझै केही गर्ने योजना बाँकी नै छन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।