किन गरिन्थ्यो विवाह? किन बनाइन्थे पोखरी र बाटा?

|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–७ का हरिप्रसाद उपाध्यायले केही समयअघि वडा नं. ४ मा मध्य पहाडी लोकमार्गको छेवैमा रहेका वरपीपलको विवाह गराए।

मण्डपको छेउमा ‘वरपीपलको विवाह’ भनेर ब्यानर टाँगिएको थियो। त्यो देख्दा अहिलेका नयाँ पुस्ताका बालबालिका र यसबारेमा थाहा नपाएकाहरू चाख मानेर हेर्दै थिए। सडकमा गुड्दै गरेका गाडी जब मण्डपको नजिक आउँथे उनीहरूको गति सुस्त हुन्थ्यो, गुड्दा गुड्दै बिहेको बारेमा जिज्ञासा पनि राख्थे।

सामान्यतः विवाह गर्ने वेला् पञ्चेबाजा बजाइन्छ। ‘वरपीपलको विवाह’ मा केही बेर पञ्चेबाजा बजाए पनि भजन भने लगातार गाइयो। विवाह लेखिएको ‘ब्यानर’ को नजिकै भजन गाइरहेको देख्दा धेरैलाई अनौठो लाग्यो। सडकमा गुड्दै गरेका सवारीहरू गाडी सुस्ताउँथे थोरै बेर भए पनि विवाह नियाल्थे।

अहिलेका बालबालिकाहरूलाई ‘वर र पीपलको विवाह’ र त्यसको नजिकै बनाइने चौतारी पोखरीको बारेमा थाहा छैन भन्दा अतिशयोक्ति नहोला। पहिले पहिले गाउँघरमा वेला वेला ‘वरपीपलको विवाह’ तथा ‘चौतारी पोखरीको विवाह’ का रूपमा यस्ता दृश्य देख्न पाइन्थ्यो। आजभोलि भएका चौतारी, पुराना वरपीपलका रूखहरू समेत मासिँदै गएका वेला ‘वर र पिपलको विवाह’ भएको देख्न सायदै पाइन्छ।

कुश्माका हरिप्रसादले अहिलेको पुस्तालाई ‘वर र पीपलको विवाह’ को बारेमा सिकाउन, मौलिक परम्परा जोगाउन र धर्म प्राप्तिका लागि लोपोन्मुख रहेको ‘वर’ र ‘पीपल’ लगनगाँठो कस्ने साइत निकाले। आफन्तलाई निमन्त्रणा गरे अनि बाजा र भजनको साथमा विधिपूर्वक ‘वरपीपल’को विवाह गराए। ‘वरपीपल’ लगाएको ठाउँमा चिटिक्कको चौतारी बनाइएको थियो। आडैमा थियो पोखरी अनि पोखरीकै बीचमा नागको प्रतीक राखिएको मौलो पनि।

किन गरिन्छ यो विवाह?

बागलुङ नगरपालिका घर भई हाल पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आइरहेका धनपति रेग्मीले यस्तै खालका धेरै विवाह गराएका छन्। ‘चौतारी पोखरीको बिहे’को बारेमा अनुभव सँगालेका उनले ‘वरपीपलको विवाह’ भनेको सन्तान नभएकाहरूका लागि सन्तान प्राप्त गर्ने एउटा धार्मिक पद्धति रहेको बताउँछन्।

ग्रहको गति अनुसार बच्चा नरहेको अवस्थामा ‘वरपीपल’को विवाह गरी चौतारी र पोखरी बनाउने काम गरेमा गर्भधारण गर्न शक्ति प्राप्त हुने उनको भनाइ छ। शनिको दोष लागेका व्यक्तिले पीपल सार्ने गरेको बताउँदै रेग्मीले पोखरी बनाउनुको अर्थ ‘गर्भाशय सुरक्षित राख्नु’ भएको तर्क दिए।

‘पीपलले अक्सिजन प्रवाह हुन्छ। अक्सिजन प्रवाह गर्नका लागि वरपीपललाई जलतत्त्व चाहिन्छ। जलतत्त्वबिना प्राणतत्त्व रहन सक्दैन। जलतत्त्वबिना प्राणतत्त्व नरहने भएकाले पोखरी बनाउने र त्यसमा जल भर्ने हो’, उनले भने, ‘प्राणतत्त्वले जल ग्रहण गरिसकेपछि कुनै पनि महिलाले गर्भधारण गर्न सक्छिन्। जलतत्त्वले शरीरमा सेचन गर्छ किनकि त्यत्तिकै त गर्भधारण हुँदैन। प्रकृति  र पृथ्वी भनेको महिला हो। ब्राह्मण भनेको पुरुष हो।’

आकाशबाट पानी वर्षा भएन भने पृथ्वीमा केही पनि उत्पादन नहुने र यसका लागि अक्सिजन प्रवाह अर्थात् प्राण भरिदिनुपर्ने रेग्मी बताउँछन्। प्राण भर्नका लागि ‘पीपल’लाई प्रतीकका रूपमा बनाइएको र ‘वरपीपल’ सारेपछि मधुमास शुरु हुने उनको भनाइ छ।

‘वरपीपल सारेपछि चौतारी र पोखरी बनाइन्छ। पोखरीको बीचमा मौलो हुन्छ। धार्मिक मान्यताअनुसार घर भएपछि धुरी, पोखरी भएपछि मौलो, मन्दिर भएपछि गजुर हुन्छ। गजुर भनेको प्रतीक हो। पोखरीको मौलोलाई क्रीडावास्तुका रूपमा लिइन्छ’, उनी थप्छन्, ‘महिलाको प्रतीकको रूपमा पोखरी रह्यो। वर र पीपललाई विष्णु र लक्ष्मीको रूपमा लिइन्छ। तिनीहरूको विवाह गरेपछि उनीहरूमा भएको गर्भधारणको रूपमा रहेको शक्ति मानिसमा प्रवाह हुन्छ। पोखरीको प्रतीक जस्तै मानिसमा गर्भधारणका लागि शक्ति सञ्चय हुन्छ। जसले हाम्रो विवाह पनि सफल बनाउँछ।’

ग्रहको स्थान अनुसार पञ्चम स्थानमा शनिको प्रभाव भयो भने सन्तान हुने सम्भावना कम हुने रेग्मीको भनाइ छ।

‘वर’ र ‘पीपल’ रहेको ठाउँभन्दा केही तल ‘शमी’ रोपिएको हुनुपर्ने धार्मिक मान्यता छ। ‘शमी’लाई भगवान् शिवको रूपमा लिइन्छ। शिवले भूतप्रेत नचाउने भएका कारण केही तल राख्दा गर्भमा असर नपर्ने वा छलकपट नहुने विश्वासका साथ ‘वर’ ‘पीपल’भन्दा तल राख्ने चलन रहेको पण्डित रेग्मीले बताए।

यस कारण पनि वैज्ञानिक देखिन्छ यो परम्परा

पहिलेका मानिस धार्मिक कुरामा धेरै विश्वास गर्थे। चतुर्मास व्रत बस्ने उनीहरू मानिस तथा पशुपक्षीलाई खाना र पानी खुवाउँदा तथा उनीहरू हिँड्ने बाटोलाई सजिलो बनाइदिँदा आफूलाई मुक्ति मिल्छ भन्ने विश्वास रही आएको छ। अहिलेको जस्तो भौतिक पूर्वाधारको विकास नभएका वेला पिउने पानीका लागि पनि राम्रो व्यवस्थापन थिएन। मानिसलाई बस्ने ठाउँ र भवनको अभाव थियो।

‘पहिलेका मान्छेहरू आफैँले पोखरी, चौतारा, छाप्रा लगायतका बनाउँथे। बसोवासको अभाव थियो। सार्वजनिक ठाउँमा बस्नका लागि पूर्वाधार हुँदैनथे। धर्मका नाममा पोखरी, चौतारा, छाप्रा बनाएपछि अभाव र समस्यामा रहेकाहरूले ती पूर्वाधार प्रयोग गर्न पाउँथे र बनाएका मान्छेलाई सन्तुष्टि मिल्थ्यो’, कुश्मा नगरपालिका–२ खुर्कोटका पण्डित महेश्वर शर्मा पौडेल भन्छन्, ‘सार्वजनिक स्थलमा कसैले बस्दा वा प्रयोग गर्दा निर्माण गरिदिएको मान्छेको वंश र धर्म चल्छ भन्ने विश्वास छ। यसै कारण सके आफूले पैसा दिएर नभए आफैँले काम गरेर भए पनि मानिसले बाटो बनाउँथे। यसो गर्दा बाटो हिँडेका मानिसको आशीर्वादले आफ्नो जीवनमार्गमा अवरोध हुँदैनन् भन्ने विश्वास थियो।’

हामीबाटै असुरक्षित छन् यिनै पूर्वाधार र संस्कार

वर्षौँ पहिले निर्माण भएका चौतारी, पोखरी, धारा, कुवा, इनार लगायतका सार्वजनिक स्थानमा राखिएका ‘छपनी’ अहिलेका हामी हल्लाउन पनि सक्दैनौँ। जब कि ती ‘छपनी’हरू डोजर र एक्स्काभेटरका सहयोगमा फुटाइँदै छ। मोटर गुड्ने बाटो बनाउन होस् वा अन्य संरचना निर्माण गर्दा अवरोध बनेको आरोपमा अहिले चौतारा भत्काउने र पोखरी पुर्ने काम भएका छन्।

पहिले पानी खाने व्यवस्था थिएन। धेरै टाढासम्म पानी खोज्न जानुपर्ने अवस्था थियो। कुलोमा पानी ल्याएर पोखरी भरिन्थ्यो। त्यही पोखरीको पानी पिएर पशुपक्षीले तिर्खा मेटाउँथे आगलागी हुँदा पोखरीकै पानी ओसारेर आगो नियन्त्रणमा आउँथ्यो।

वनमा गाईवस्तु चराउन लैजाँदा तिर्खा मेटाउन वनकै विभिन्न स्थानमा चौतारी र पोखरी हुन्थे। वर्षाको पानी पोखरीमा जम्मा हुन्थ्यो। चरण क्षेत्रमा ती पोखरीको पानी चौपाया र पक्षीले पिउँथे, वनमा आगो लागे‚ त्यही पोखरीको पानी फालिन्थ्यो।

‘आधुनिकता र भौतिक पूर्वाधारको विकाससँगै मानिसभित्र रहेको मानवीयता संकटमा परेको छ। परिवर्तनका नाममा पुराना सबै कुरा गलत रहेको देख्ने हाम्रा नजरले यिनको महत्त्व देख्न सकेनन्’‚ पूर्व शिक्षक तथा धार्मिक रूपमा सक्रिय पृथ्वीनारायण शर्मा भन्छन्, ‘विकासका नाममा चौतारी भत्काउने र पोखरी पुर्न थालिएको छ। वरपीपलका रूख मासिएका छन्। जसरी यी सांस्कृतिक गहना र परम्परा मासिँदै छन्, उसरी नै मानिसमा इमान्दारी, अनुशासन, नैतिकता पनि हराउँदै छन्। अब पनि यसबारे नसोचे यसको दुष्परिणाम भोग्नुपर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.