|

दाङ :  तुलसीपुर उपमहानगरपालिका १५ पहरूवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको  कुवाको पानी खाँदै आएकी छन्।

गाउँमा सार्वजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन्।

 उनले निर्वाचनको बेला नेताहरू  भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भए तापनि आफूले अहिलेसम्म नपाएको गुनासो गरिन्।

उनले भनिन्,‘विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ। आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिँदैन। एउटा कुवा बनाउनका लागि ४०- ५० हजार खर्च हुन्छ। पोहोर सालको चुनावमा भोट माग्न आउँदा कुवा दिन्छौँ, भनेर भोट मागे। तर, अहिले कुवा माग्न जाँदा बजेट दिँदैनन्।’

उनले कुवाको लागि वडा कार्यालयमा गएको भन्दै नपाएको गुनासो गरिन्। अहिले कुवाको बजेट आएको थाहा पाएपछि वडा कार्यालयमा गएको र वडाले छिमेकीलाई नै दिएको जानकारी दिएको बताइन्।

उनले भनिन्,‘हामीले तपाईँको घर नजिकै एउटा कुवा दिएका छौँ। यदि उनीहरूले खेतमा कुवा खन्न दिएमा तपाईँलाई कुवा पर्न पनि सक्ला, नसक्ला पनि भन्ने जवाफ पाएँ। जसमा घरमा कुवा छ। जो आफ्नो नजिकको मान्छे हो। त्यसैले सबै कुराहरू पाउँछन्। हामी जस्ता गरिबदु:खीहरूले कसरी पाउन सक्छौँ।’

उनले खानेपानी छिमेकीको घरबाट ल्याउने गरेको भए यता पनि नुहाउनको लागि खोलामा जानुपर्ने बाध्यता रहेको उल्लेख गरिन्।

यस्तै, उनले यदि छिमेकीको घरबाट पानी ल्याउन नपाएको अवस्थामा आफूहरूले पानी खान नपाउनेसमेत बताइन्। उनले आफ्नो समस्याको समाधान गरिदिनसमेत आग्रह गरेकी छन्। 

वडा कार्यालयबाट १२ वटा कुवा वितरण

तुलसीपुर उपमहानगरपालिका १५ ले अति विपन्न घर परिवारलाई भनेर सार्वजनिक कुवा वितरण गर्यो।  वडाको बजेटबाट १२ वटा  सार्वजनिक कुवा वितरण गरे पनि ति कुवा भने अतिविपन्न घरमा पुग्न सकेनन्। हुने खाने र समाजका टाठाबाठालाई नै दिइयो। सामुदायिक कुवा भने पनि व्यक्तिगत घरभित्र राख्न थालेपछि त्यसको विरोध भएको छ।

पहरूवाको  भुह्यारथान टोलमा ऋषिराज पण्डितको घरमा त्यो कुरा दिइएको छ। उनको घरमा यस अघि नै कुवा थियो। अहिले वडाले पनि उनलाई नै कुवा दिइएको छ। तर, नजिकै  रचना रैदासको घर छ। भुह्यारथान टोलमा ३ वटा कुँवामध्ये सुन्दर रैदास, अमृत बुढा र  पण्डितको घरमा त्यसरी कुवा उपलब्ध गराइएको थियो।

यस्तै, कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले  भने वडा कार्यालयको ५ लाख बजेट अनुसार  १२ वटा कुवा टोल संस्थाको मागबमोजिम दिएको बताए। उनले वडाका २४ वटा टोलहरू रहेको टोलहरूको माग बमोजिम अनुसार नै कुवा वितरण गरेको बताए।

उनका अनुसार एउटा कुवाको लागि वडाले ४० हजार रकम दिएको छ। उनले भने,‘हामीले टोलको माग बमोजिम नै  कुवा दिएका छौँ। तर, तीमध्ये एउटा कुवा मात्र विवादित भएको छ। त्यसलाई पनि हामीले बैठकबाट निर्णय गर्ने तयारी गरेका छौँ।’

 यस्तै विगतमा एउटा कुवाको लागि वडाले ५० हजार दिने गरेको भएयता पनि आफ्नै पहलमा समुदायको पनि अपनत्व होस् भनेर ४० हजार दिएको र समुदायले पनि केही रकम लगाउनु भन्ने उद्देश्य रहेको पनि उनको भनाइ छ। यस्तै पैसालाई कम गरेर वडाका सबै नागरिकलाई पानीको पहुँच पुर्‍याउनको लागि धेरै कुवा पाउन भनेर काम गरेको पनि बताए।

टोललाई जानकारी दिएको छैन

यस्तै, भुह्यारथान टोलका  शिवराम चौधरीले वडा कार्यालय आफूहरूलाई जानकारी नदिएर टोलमा कुवा दिएको बताए। उनका अनुसार आफ्नो टोलमा कहाँ र कसलाई कुवा दिएको भन्ने जानकारी नपाएको बताए।

उनले वडाले सार्वजनिक ठाउँमा भन्दा व्यक्तिगत रुपमा कुवा दिएपछि त्यसको विरोध गरेको समेत बताए। उनले भने, ‘हामी सबैको  एउटै उद्देश्य भनेका टोलका सबै नागरिकहरू पानी खानेबाट वञ्चित नहुने  भन्ने नै हो। तर, वडाले कुवा भएको घरमा फेरि कुवा दिएपछि त्यसको हाम्रो विरोध हो। जुन उद्देश्यले दिनुपर्ने हो। त्यहीअनुसार नै दिनुपर्छ, भन्ने हाम्रो भनाइ हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.