|

सर्लाही : पछिल्लो समय सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार भइरहेको पाइएको छ। वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा जंगली जनावर पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको हो।

अहिले सर्लाहीको प्रायः वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावरको वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्ने गरेको छ।

रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पुर्‍याउने भएकाले शिकार खेल्न जाने स्थानीय समूह बढेको हरिपुर नगरपालिका–१ का स्थानीय गोपाल श्रेष्ठले बताए।

विशेष गरी प्रत्येक दिनजसो बिहानीपख बन्दुक पड्केको आवाज आउने गरेको उनको भनाइ छ। बरहथवा, हरिपुर, बागमती, लालबन्दी, हरिवन, ईश्वरपुरको वनक्षेत्रमा अवैध हातहतियार, करेन्ट र जालको प्रयोग गरी जंगली जनावर चोरी शिकार भइरहेको स्थानीयले बताएका छन्।

सब डिभिजन वन कार्यालय मुर्तिया र जानकीनगरका वन कर्मचारीको बेवास्ताका कारण वनक्षेत्रमा पर्ने जानकीनगर, शंकरपुर, सागरनाथ वन परियोजना, हजरिया, राजघाट, मुर्तिया घुर्कौली चुरेक्षेत्र लगायतको स्थानमा लोपोन्मुख प्रजातिका बँदेल, हरिण, नीलगाई, दुम्सी, मृगलगायत वन्यजन्तुको अवैध चोरी शिकार बढ्दै गइरहेको स्थानीयको दाबी छ।

उनीहरूका अनुसार वन कर्मचारीकै मिलेमतोमा वन्यजन्तु चोरीतस्करी हुने गरेको छ। वन्यजन्तुको चोरी तस्करी रोक्न सम्बन्धित निकायले खासै निगरानी नगरेको स्थानीय बताउँछन्।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डीएफओ) मञ्जुर अहमदका अनुसार वन्यजन्तु चोरीशिकारमा वनकर्मचारीको कुनै किसिमको संलग्नता नरहेको दाबी गरेका छन्। उनका अनुसार वन्यजन्तुको चोरी तस्करी रोक्न वन कर्मचारी खटिइरहेको  बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.