बागलुङ : तल काठेखोला, माथि प्रसिद्ध बागलुङ कालिका मन्दिर। मध्य भागमा छ- बागलुङ बजारको ठूलो डम्पिङ साइट।
डम्पिङ साइटमा फोहोर थुप्रिएर ठूलो पहाड नै बनेको छ। फोहोरको डङ्गुरमा दैनिकजसो केही बुढापाका, केही अधबैंसे र केही किशोरी भेटिन्छन्। उनीहरुमध्ये केहीले फोहोरबाट प्लास्टिकका बोतल निकालिरहेका हुन्छन् त केहीले फलामका टुक्रा जम्मा गरिरहेका हुन्छन्। त्यही डङ्गुरमा भेटिन्छन्, ६० वर्षीय आनन्दबहादुर गुरुङ पनि।
गुरुङले यसरी फोहोरबाट कच्चा पदार्थ संकलन गर्न थालेको १२ वर्ष बितिसक्यो। आनन्दबहादुर तनहुँको दमौलीदेखि बिहान बेलुकाको हातमुख जोड्नकै लागि यहाँ काम गर्न आएका हुन्। उनीसँगै यहाँ काम गर्ने १० जना छन्।
बागलुङ बजारबाट संकलन गरेर फ्याँकिएको फोहोरबाट उनीहरु मोहर बटुली राखेका छन्। अन्य ठाउँमा काम नपाएपछि फोहोरमा प्लास्टिक तथा फलामजन्य वस्तुहरु संकलनमा लागेका आनन्दबहादुरको ५ जनाको परिवार छ।
दुई छोरी, एक छोरा र श्रीमतीसहित ५ जनाको परिवार आनन्दबहादुरकै भरमा चलेको छ। उनी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म डम्पिङसाइटमै काम हुन्छन्।
फोहोरमै स्वास्थ्यको ख्याल नगरि काम गर्ने आनन्दबहादुरको महिना दिनको कमाइ जम्माजम्मी साढे ११ हजारमात्रै हो। यही ११ हजारबाट उनले परिवारको गर्जो टार्दै आएका छन्।
फोहोरमा काम गर्दा सुरक्षित भएर गर्नुपर्ने हो तर उनीसहित सबै जना मुखमा मास्कसमेत नलगाइ काम गर्छन्। एक दिन काम नगरे बिहान बेलुकाको छाक नटर्ने उनी बताउँछन्।
६० वर्षको उमेर परिवारसँग घरैमा आराम गरेर बस्ने उमेर हो तर बाध्यता र समस्याले आनन्दबहादुरलाई आराम गर्न दिएन।
‘रहरले गरेको होइन हजुर बाध्यता छ, छोराछोरी पढाउनु पर्यो, खान पर्यो, लगाउनु पर्यो, काम नगरे के गरि चल्छ र? राज्यले हाम्रो दुःख, व्यथा र समस्या बुझेन,’ गुरुङले भने‚ ‘नेताहरुले आश देखाउनेबाहेक अरु काम गरेनन्, उनीहरुलाई भोट चाहियो भने ढोग्नै आउँछन्। अघिपछि घुम्दैनन्, अहिले त आश पनि लाग्छ छोडि सक्यो, यो देशमा हामीजस्ता गरिब जनताको केही भेलु (महत्व) छैन, हामी मरे पनि बाँचे पनि नेताहरुलाई कुनै मतलब छैन।’
पर्वतको कुश्मा नगरपालिका–१ का ३४ वर्षीय लालबहादुर परियारले पनि फोहोरमा बोतल संकलन गर्न थालेको १६ वर्ष भयो। उनी सरकारी जागिरे हुन्थे भने केही वर्षपछि अवकाश भएर पेन्सन पाउने थिए।
तर अन्य ठाउँमा रोजगार नपाएपछि फोहोरमा कच्चा पदार्थ संकलनमा लागेका परियारलाई यहाँ काम गरेर महिनाभरि कमाएको कमाइले परिवार चलाउन हम्मेहम्मे छ।
दुई छोरी र एक छोराको पढाईलेखाईसँगै घर खर्च परियारकै भरमा छ। आर्थिक अवस्था सामान्य भएका परियारलाई राज्यको तर्फबाट कुनै पनि रोजगारको अवसर नहुँदा फोहोरमा काम गर्नु परेको हो।
स्थानीय सरकारले सानोतिनो परिवार धान्न सक्ने रोजगार दिए फोहोरबाट मुक्त हुने लालबहादुर बताउँछन्। लामो समय फोहोरमा काम गर्दा बेला बेलामा बिरामी हुने गरेको उनले बताए।
‘धेरै वर्ष भयो मैले फोहोरमा काम गर्न लागेको, खास्सै कमाई छैन, महँगी दिनदिनै बढिरहेको छ, कामबाट पैसा बढ्दैन, महिनाभरि काम गर्यो दुई छाक टार्नै गाह्रो हुन्छ,’ लालबहादुरले भने‚ ‘धेरै किसिमका फोहोर हुन्छन् यहाँ, सेफ्टी केही पनि छैन, यतिकै काम गर्नु पर्छ। धेरै बिरामी पनि भइन्छ, बिरामी भएँ भनेर नहुने, यहाँ काम नगरेर अरु ठाउँ कहाँ जाने? कतै काम पनि पाइँदैन, जति बिरामी भए पनि यहीँ नै काम गर्नु पर्छ।’
पर्वत मालढुङ्गाकी माया मगर पनि ६ महिनादेखि यही डम्पिङ साइटमा फोहोर छुट्याउने काम गर्दै आएकी छन्। उनले यहाँ कुहिने र नकुहिने फोहोर छुट्याउने काम गर्छिन्। ६ जनाको परिवार पाल्दै आएकी मायाको मुख्य पेशा नै मजदुरी हो।
उनले फोहोर छुट्याउने काम गर्नुभन्दा पहिले कालीगण्डकी किनारमा बालुवा चाल्ने काम गर्थिन्। सर्वोच्च अदालतले रोक लगाएपछि उनले धेरै ठाउँमा काम खोजिन् तर नपाएपछि डम्पिङसाइटमा आउनु परेको बताइन्।
४० वर्षीया मगरले महिनाभरि फोहोर छुट्याएको साढे ८ हजार रूपैयाँ पारिश्रमिक पाउँछिन्। बिहानदेखि बेलुकीसम्म फोहोरमा काम गर्दा धेरै पटक बिरामी परेको सुनाइन्।
उनी भन्छिन्‚ ‘काम सानो ठूला कहिल्यै हुँदैन तर फोहोरमा काम गर्दा धेरै समस्या आउने रहेछन्, सबैभन्दा ठूलो त स्वास्थ्य हो। यहाँको गन्धले गर्दा होला बिमारी भइयो धेरै पटक, कमाई पनि थोरै छ, जसोतसो परिवार चलाउनै पर्यो।’
मजदुरले असुरक्षित रुपमा डम्पिङ साइटमा काम गर्दा यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरनजिकै रहेको डम्पिङ साइटले यात्रुसँगै कालिका मन्दिरमा समेत दुर्गन्ध आउने गरेको पाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।