सेतीमा आउनै मान्दैनन् चिकित्सक

|

धनगढी : सेती प्रादेशिक अस्पताल, धनगढीको व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले चैत २१ गते चिकित्सक र स्वास्थ्यकर्मीं छनोटमा चलखेल रोक्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराए।

उनले मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। कर्मचारी पदपूर्तिमा आर्थिक र राजनीतिक चलखेल भइरहेको भन्दै उनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

समितिकै सदस्य समेत रहेका उनले आन्तरिक चलखेल भइरहेको आरोप लगाएपछि यो कुरा झन् बल्झिएको छ। अस्पतालले करार सेवामा व्यवस्थापन मापदण्ड २०७९ अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको थियो।

६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो।

जसमा ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।

पदपूर्ति प्रक्रिया नै विवादित

अस्पतालमा कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया नै विवादित बनेको बताइएको छ। अस्पताल प्रशासनले कर्मचारी पदपूर्ति गर्न सजिलो र छोटो प्रक्रियामार्फत जान खोजेपछि विवाद बढेको हो। अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीका वेला बनाएको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७७ अनुसार नै पदपूर्ति प्रक्रिया जारी राखेको छ।

महामारीका वेलाको मापदण्ड अपनाएको, लिखित परीक्षा लिनुपर्नेमा अन्तरवार्ता मात्र राखेको भन्दै उजुरी समेत परेको छ। छनोट मापदण्डबारे पुनर्विचार गर्नुपर्ने, लिखित तथा मौखिक परीक्षा लिएर मात्र पदपूर्ति प्रक्रिया पुनः थाल्नुपर्ने मागसहित उजुरी परेको हो।

उजुरी परेपछि अस्पतालले सामाजिक विकास मन्त्रालयलाई पत्र लेखी पठाएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।

प्रादेशिक अस्पतालले ६ चैतमा ७ दिने सूचना जारी गर्दै नवौं तहका ७ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, एनेस्थेसिया सहायक र हेल्थ असिस्टेन्ट ५÷५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ३५ जना स्टाफ नर्ससहित विभिन्न तहका ७१ जना स्वास्थ्यकर्मी माग गरेको थियो।

सूचना अधिकारी उपाध्यायका अनुसार नवौं तहको विशेषज्ञ चिकित्सकतर्फ पेडियाट्रिसियन, साइक्याट्रिक, मेडिकल जनरलिस्ट र रेडियोलोजिस्टमा आवेदन परेको छैन। सेवा, सुविधा कम भएका कारण प्रायः पदमा चिकित्सक आउन नमान्ने समस्या रहेको बताइन्छ।

यी बाहेकका पदमा १ हजार ८३ जनाको आवेदन परेको छ।

सामाजिक मन्त्रालय स्रोतले भने उजुरीका सम्बन्धमा छानबिन चलिरहेको जनाएको छ। कोभिड–१९ महामारीलाई लक्षित गरेर बनेको कार्यविधिबाट सामान्य समयमा पनि पदपूर्ति गर्न लागिएको भन्दै पदपूर्ति प्रक्रियामा गडबडको आशंका गरिएको हो।

सोही कारण प्रादेशिक अस्पतालको व्यवस्थापन समिति विभाजित भएको छ। व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले मंगलबार राजनीतिक दबावका आधारमा कर्मचारी छनोट नगर्न भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएपछि समितिमा दुई धार देखिएका हुन्।

निराधार आरोप : अध्यक्ष
यस्तै अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह भने सदस्य भट्टले लगाएका आरोप निराधार रहेको बताउँछन्। यद्यपि उनले पनि कोरोना महामारीका वेला बनेको कार्यविधि अनुसार कर्मचारी भर्ना गर्न मिल्ने कि नमिल्ने भन्ने कुरा मननीय रहेको बताए।

कर्मचारी भर्ना कार्यविधिअनुसार नै हुन्छ। केही चलखेल र दबाव छैन’, शाहले भने, ‘अहिले हामी पहिलो चरणमा फाइल केलाउने, हेर्ने काम गरिरहेका छौं। नियमानुसार र कार्यविधिअनुसार नै कर्मचारी भर्ना हुन्छन्।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.