|

काठमाडौँ : किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आइतवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ।​

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई दोस्रो जित दिलाउने क्रममा विमल घर्ती मगरले र विदेशी खेलाडी आफिज ओलावालेले एक/एक गोल गरे। यस्तै संकटाका लागि मनीष डाँगीले एक गोल फर्काए। मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएपछि प्रशिक्षकविहीन भएको मच्छिन्द्रले आइतवार मात्र किशोरकुमार केसीलाई प्रशिक्षको जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएको पहिलो मौकामा बलियो संकटासँग मच्छिन्द्रले अंक खोस्न सफल भएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रका लागि विमल घर्ती मगरले खेलको २० औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए। मैदानको मध्य भागबाट उपलब्ध भएको पासलाई विमलले अगाडि बढाएर गोलकिपरलाई बिट गर्दै जाली चुमाउन सफल भएका थिए। दुई मिनेटपछि नै मनीषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए। पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बललाई गोलमा परिणत गरेका थिए।

त्यसपछिको पहिलो हाफ बराबरीमा सकियो। दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको मच्छिन्द्रले ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २–१ अग्रता दिलाए। भुटानी रोनाल्डो चेन्चो ग्याल्सेनसहित उत्रिएको मच्छिन्द्रले बाँकी समयमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन।

यस्तै संकटाले पनि केही अवसर खेर फाल्न पुगेको थियो। इन्जुरी समयमा चेन्चोले अग्रता दिलाउने सुवर्ण अवसर गुमाए। आन्द्रेस नियाले उपलब्ध गराएको पासलाई चेन्चोले गोलका लागि प्रयास गरे पनि उनको प्रहार गोलकिपरले सहजै बचाएका थिए।

यो जितसँगै मच्छिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ। मच्छिन्द्र सातौं स्थानमा उक्लिएको छ भने जारी लिगमा दोस्रो जित पनि निकालेको हो। उता संकटाको भने यो दोस्रो हार हो। संकटा ९ अंक जोडेर आठौं स्थानमा छ।

लिगअन्तर्गत आइतवार सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी)ले जारी लिगमा पहिलो जित निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एनआरटीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गर्दै सातौं चरणमा पहिलो सफलता निकालेको हो। निकै रोमाञ्चक बनेको खेलमा एनआरटीले पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा १४औं मिनेटमा खमिर गिल्सनले गर्दै हिमालयन शेर्पालाई दिलाएको अग्रतालाई उल्टाएको हो। पहिलो हाफमा पछि परे पनि दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको एनआरटीका लागि ६७ औं मिनेटमा रोहन खड्गीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। खेल अन्त्यतिर काउन्टरमा उत्रिएको एनआरटीले एक मिनेट बाँकी र जेनिस प्रजापतिले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाएका थिए।

इन्जुरी समयमा हिमालयन खेलमा फर्किन प्रयास गरे पनि असफल भयो र एनआरटीले जारी लिगमा पहिलो जित निकाल्न सफल भएको हो। जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ। हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ।

लिगमा सोमवार पनि तीन खेल हुनेछन्। एन्फा मुख्यालयमा फ्रेण्ड्ससँग पहिलोपटक विदेशी खेलाडी समावेश गरेको नेपाल पुलिसले प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा चर्च ब्वाइज र विभागीय टोली एपिएफ क्लबबीच खेल हुनेछ। यस्तै दिनको अन्तिम खेल दशरथ रंगशालामा थ्री स्टार र मनाङ मर्स्याङदीबीच हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.