|

बैतडी : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ। मंगलबारदेखि अछाममा हुने तय भएको छनोट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेको छ। सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ।

उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या हुने भएपछि हाललाई स्थगित गरेका हौं, सडक सञ्चालन भएपछि प्रतियोगिता सञ्चालनको लागि अर्को सूचना जारी गर्छौं।’

प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागिता रहनेछ। उक्त छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रिय छनोट प्रतियोगिता खेल्नेछ।

नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्येनजर गर्दै जिल्ला र प्रदेश छनोट गर्न निर्देशन दिएको हो।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ। सोही प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.