|

बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।

पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। 

स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनिका छ जना छन् भने त्यसभन्दा माथिका ५७० जना रहेका छन्। आर्थिक वर्ष २०७७/०७८ मा ६९८ जनाले गर्भपतन गराएका छन्। जसमा चार जना २० वर्ष मुनिका छन्। २०७८/०७९ मा ६९१ जनाले गर्भपतन गराएका छन्। यसमध्ये तीन जना २० वर्षमुनिका छन्।

चालु आर्थिक वर्षको नौ महिनामा २० वर्ष मुनिका एक जनासहित ४८१ जनाले गर्भपतन गराएका छन्। सरकारी स्वास्थ्य संस्था नआई स्वास्थ्यलाई जोखिममा राखेर महिला अस्पतालमा गर्भपतन गराउने गरेको पाइएको छ। जिल्लाको ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म १८६ जनाले गर्भपतन गराएका छन्।

स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदी अविवाहित महिला, सम्बन्ध बिग्रेकाहरू पनि गर्भपतन गराउन आउने गरेको सुवेदीले बताए। ‘उमेर पुगेका महिलादेखि किशोरीहरु पनि गर्भपतन गराउन आउँछन्। अशिक्षा र यौन सम्पर्कका बेला सावधानी नअपनाउँदा गर्भपतन गराउनु पर्ने बाध्यतामा महिला हुन्छन्’ डाक्टर सुवेदीले भने, ‘यो तथ्यांक अस्पतालमा आएर सुरक्षित रुपमा गर्भपतन गराएकाहरुको हो, यो बाहेक बाहिर असुरक्षित गर्भपतन गराउने पनि हुन्छन्। लाज र डरले उनीहरू अस्पताल आउँदैनन्। औषधी खाएर गर्भ फाल्छन्।’

गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको संख्या बढी रहेको पाइएको छ। नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४० जना महिलाले अस्पतालमा आएर गर्भपतन गराएकोमा चालु आर्थिक वर्षको आलसम्म ५० जनाले सुरक्षित गर्भपतन गराएका छन्। महिलालाई औषधी खुवाएर र अप्रेसन गरेर गर्भपतन गराइने डाक्टर सुवेदी बताउँछन्।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छाडेपछि गर्भपतन गराउनेको सख्या बढेको बताउनुहुन्छ। स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन हुन्छ भन्ने महिलाको चेतना वृद्धि भएपछि वार्षिक रूपमा केही संख्या बढ्नु स्वाभाविक भएको उनको भनाइ छ।

‘अहिले मान्छेहरुले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहना धेरैले राख्छन्, छोराको लागि प्रयास गर्ने र फेरि छोरी हुने देखिएपछि गर्भपतन गराउने गराएको पाइन्छ’ प्रमुख खनाल भन्छन्।

धौलागिरी अस्पतालमा पनि गर्भपतन गराउने महिलाको संख्या बढी छ। अघिल्लो आर्थिक वर्षमा तीन सय ४५ जना महिलाले गर्भपतन गराएका थिए। त्यसमध्ये ४८ महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालकी सूचना अधिकारी अञ्जना पौडलले बताइन्। चालु आर्थिक वर्षको हालसम्म २६० जना महिलाले गर्भपतन गराएको उनको भनाइ छ। त्यसमध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको छ।

‘एउटै मान्छे झुक्कियो भन्दै तीन/चार पटक आउने गर्छन्, अस्पतालमा आउनेलाई सहज रूपमा सुरक्षित गर्भपतन सेवा दिन्छौँ, यस वर्ष अझै बढ्ने सम्भावना देखिन्छ, यो त यहाँ अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेको संख्या हो, बाहिर इलिगल औषधी खाएर गर्भपतन गराउने कति होलान्?’ उनले भनिन्।
पछिल्लो समय परपुरुषसँग सम्बन्ध राखेर गर्भपतन गराउने महिलाको संख्या पनि उत्तिकै रहेको एक स्वास्थ्यकर्मी बताउँछन्। अविवाहित तथा परपुरुषसँग सम्बन्ध राखेका १०/१२ महिला औषधी सेवन गर्न आउने गरेको ती स्वास्थ्यकर्मीले बताए। 

‘अहिले त १५/१६ वर्षका किशोरी पनि गर्भपतन गराउने औषधी लिन आउँछन्। उनीहरूलाई सबै कुरा सोध्ने कुरा पनि भएन, अवस्था हेरेर औषधी दिने वा अप्रेसन के गरेर गर्भपतन गराउन सकिन्छ, त्यही गर्नुपर्छ’, उनी भन्छन्, ‘श्रीमान् विदेश भएका महिला पनि गर्भपतन गराउन आउँछन्।’

पटक–पटक गर्भपतन गर्दा यस्ता समस्या आउन सक्छ

बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपत गराउने र औषधी बेच्ने गरेको पाइन्छ। यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मी बताउँछन्। कतिपय महिलाले पटक–पटक गर्भपतन गराउनेसमेत गरेका छन्। यसले स्वास्थ्यमा असर पुर्‍याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर निरज सुवेदीले बताए।

धेरैपटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भावना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै अप्रेसन गर्नु पर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। ‘गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपतकालीन अवस्थामा मात्रै गर्नु पर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग गर्नु उचित हो’, डाक्टर सुवेदी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.