|

दाङ :  तुलसीपुर उपमहानगरपालिका-१९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले पछिल्लो समय विशेषज्ञ सेवा दिन थालेपछि बिरामीहरूको चाप बढ्दै गएको छ। दैनिक सयौँको संख्यामा बिरामीहरू उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

बिरामीहरू चाप बढ्दै गए पनि ३० बेडको अस्पताल भएकाले बिरामीहरूको उपचार गर्न समस्या हुने गरेको अस्पतालका निमित्त निर्देशक डा सन्तोषकुमार ठाकुरले बताए।

उनका अनुसार अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरेपछि ओपिडीमा दिनदिनै बिरामीहरूको संख्या बढ्दै गएको छ। उनले भने, ‘इन्डोरमा हाम्रो ३० बेडको क्षमता छ। अहिले २८/२९ जना बिरामीहरू भर्ना भएका छन्। अब बिरामीहरू थपिए राख्ने ठाउँ छैन। सेवाको गुणस्तरीयता बढाउँदै गएपछि बिरामीहरू सेवा लिन आउने क्रम पनि बढ्दै गएको छ। ’

उनले आफू आएको करिब एक वर्ष भएको भन्दै यहाँ भएको भौतिक पूर्वाधारबाट नै सक्दो सेवा दिइरहेको पनि उल्लेख गरे। 

उनका अनुसार अस्पताललाई ५० बेडसम्म स्तरोन्नति गर्ने प्रदेश सरकारको नीति र कार्यक्रममा आएको भएयता पनि अहिलेसम्म मन्त्रिपरिषदबाट निर्णय भएको छैन। उनले भने, ‘प्रदेश सरकारबाट त्यो स्वीकृत भएपछि अस्पतालमा बहिरङ्ग र अन्तरङ्गको भवन निर्माण हुने थियो। अस्पतालमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशका केही जिल्लाबाट बिरामीहरू उपचार गर्न आउने गर्छन्।‘

अस्पतालमा अहिले विशेषज्ञ स्तरमा पञ्चकर्म, शल्य, शालाक्य, बालरोग सेवा प्रदान गर्दै आएको र अबको केही समयमा स्त्री रोगमा आयुर्वेदको पद्धतिमा सेवा दिने तयारी रहेको निर्देशक डा. ठाकुरले बताए।

जन्मेदेखि ५ वर्षसम्मका बच्चाहरूको लागि स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन भइरहेको पनि उनको भनाइ छ। विगत ६ महिनादेखि अस्पतालमा यो कार्यक्रम लागू भएको र यसमा बच्चाहरूको उल्लेखनीय सहभागिता हुने गरेको भन्दै स्वर्ण विन्दु प्राशन प्रयोग गरेका बालबालिकाहरूलाई यसले फाइदा गरेको पनि उनले बताए।

बेड शुल्क २५ रुपैयाँ, खाना नास्ता फ्रि

अस्पतालमा उपचार गर्न आएका बिरामीहरू भर्ना भएपछि उनीहरूले दैनिक बेड शुल्क २५ रुपैयाँ दिने गरेका छन्। यो शुल्क एकदमै न्यून रहेको पनि अस्पतालले जनाएको छ। यस्तै अस्पतालमा ल्याब सेवा पनि रहेको हुँदा ल्याबमा पनि न्यूनतम शुल्क रहेको डा. ठाकुरको भनाइ छ।

उनका अनुसार अस्पतालमा भर्ना भएका बिरामीहरूलाई दैनिक दुई टाइम खाना र नास्ता निःशुल्क दिइन्छ। उनले भने, ‘निजी अस्पतालको कुरा छोडौँ। अन्य सरकारी अस्पतालभन्दा पनि न्यून शुल्कमा हामीले बिरामीहरूको उपचार गर्दै आएका छौँ। हामीले धेरै नाफा लिने भन्दा पनि बिरामीहरूको राम्रो सेवा प्रदान गर्ने उद्देश्य लिएका छौँ। यस्तै हाम्रो फार्मेसीमा पनि बाहिरभन्दा २० प्रतिशत छुटमा औषधि दिने गरेका छौँ। ’

उनले अस्पताललाई ५० बेडसम्मको बनाउन सके सेवा थपेर नागरिकहरूको मन जित्ने पनि दाबी गरे।

उनले अस्पताल १५ बेडको हुँदा जति जनशक्ति थिए अहिले अस्पताल ३० शय्याको हुँदा पनि त्यति नै रहेको तर बिरामीहरूलाई राम्रो सेवा प्रदान गर्दै आएको बताए।

उनले भने, ‘अब हामीलाई ५० बेड सञ्चालन गर्न मिल्ने भौतिक संरचना र जनशक्ति पनि त्यहीअनुसार भए हामी यसलाई पूरै प्रदेशमा आयुर्वेदमा उत्कृष्ट संस्था बनाउन सक्छौँ। हामीले धेरै नागरिकलाई सेवा प्रदान गर्न सक्छौँ। त्यसको लागि प्रदेश सरकारले ध्यान दिन जरुरी छ।’

पञ्चकर्ममा दैनिक ४० भन्दा बढी र थेरापीमा ८० जनासम्म सेवा लिन आउने

हिजोआज अस्पतालमा पञ्चकर्मअन्तर्गत विभिन्न सेवा लिन दैनिक ४० जनाभन्दा बढी आउने गरेको पञ्चकर्मका इन्चार्ज राजनकुमार चौधरीले बताए। उनका अनुसार दैनिक रुपमा दाङलगायत विभिन्न जिल्लाबाट बिरामीहरू सेवा लिन आउने गरेका छन्। 

थेरापीका लागि पनि दैनिक ८० जनाभन्दा बढी बिरामीहरू सेवा लिन आउने गरेको उनको भनाइ छ।

अस्पतालले आमाको जस्तो माया दिन्छ : सेवाग्राही

तुलसीपुर उपमहानगरपालिका-६ का नेत्रलाल वलीले अस्पतालमा आएर उपचार गर्दा आमाको जस्तो माया पाएको बताए। उनी मुखमा एलर्जी भएपछि करिब एक हप्तादेखि अस्पताल धाएर उपचार गर्दै आएका छन्।

उनले भने, ‘मैले विगत १० वर्षदेखि एलर्जीको उपचार गर्न एलोप्याथिक औषधि खाँदै आएँ तर निको भएको थिएन। मलाई एकजनाले यस अस्पतालमा जान सल्लाह दिनु भयो। अहिले एक हप्ता भयो आएर उपचार गर्न लागेको धेरै ठिक भयो। यहाँको सेवा सुविधाको बारेमा मैले अहिले थाहा पाउँदा मलाई धेरै गौरव लागेको छ। तुलसीपुरमा पनि यस्तो अस्पताल रहेछ भन्ने कुरा मैले अहिले थाहा पाएँ।’

अझै पनि धेरै मानिसहरू केही समस्या भए उपचारका लागि बाहिर जाने गरेको भन्दै यति राम्रो र व्यवस्थित अस्पताल हुँदा पनि हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।

उनले यही आफ्नो ठाउँमा एकदम सस्तोमा राम्रो उपचार हुन ठाउँ भए पनि हामीले यसलाई विश्वास नगर्दा बाहिर गएर धेरै पैसा खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यस अस्पतालमा आएर सेवा लिन पनि आग्रह गरे।

उनले अस्पतालका डाक्टर तथा नर्सहरूको व्यवहारबाटै बिरामीको आधी रोग निको हुनेजस्तो आफूलाई महसुस भएको बताए।

उनले नागरिकहरूलाई आयुर्वेदबारे जानकारी गराउनुपर्ने पनि बताए। उनले भने, ‘अहिले आम नागरिकमा आयुर्वेदभन्दा एलोप्याथिकलाई विश्वास मान्न चलन रहेको छ तर एलोप्याथिकले रोग न्यूनीकरण गर्ने हो ? आयुर्वेदले निर्मूल गर्ने हो। भन्ने कुरा बुझाउन जरुरी रहेको छ। यस अस्पतालको विकासका लागि सबैले ध्यान दिन जरुरी छ।‘

प्यूठानका नारायणप्रसाद गोराथोकी १७ दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गर्दै आएका छन्। पायल्सको अप्रेसन गरेका उनले अस्पतालमा एकदमै राम्रो सेवा पाएको बताए।

उनले पहिला बाहिर उपचार गरेको भए पनि यस अस्पतालमा राम्रो उपचार हुने थाहा पाएपछि आएको भन्दै एकदमै सस्तोमा र राम्रो सेवा सुविधासहित उपचार गरिरहेको बताए।

उनले अस्पतालमा बेडको कमीका कारणले सबै बिरामीहरू एउटै ठाउँमा राख्दा समस्या हुने गरेको भन्दै अस्पतालको स्तरोन्नति गर्नुपर्ने माग गरे।

उनले भने, ‘ एक दिनको २४ रुपैयाँ बेडको चार्ज छ। त्यसमा पनि दुई टाइम खाना र दुई टाइम नास्ता पाइन्छ। सरसफाइ पनि राम्रो छ तर बिरामीहरूको संख्या धेरै हुने भएकाले सबैलाई एउटै ठाउँमा राख्दा समस्या हुन्छ। त्यसैले अस्पतालले बिरामीअनुसार छुट्टाछुट्टै ठाउँमा बिरामीहरू राख्ने व्यवस्था गरेपछि राम्रो हुन्थ्यो। फेरि अस्पतालमा अरु बेड थप्ने ठाउँमा रहेनछ। त्यसैले राज्यले यसतर्फ ध्यान दिन जरुरी छ।’

ज्येष्ठले निःशुल्क सेवा पाउँदा खुशी

ज्येष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी विगत ४ वर्षदेखि कुनै समस्या देखिए उपचारका लागि अस्पताल आउने गरेको बताए। उनले अस्पतालले ज्येष्ठ नागरिकहरूलाई सबै सेवा निःशुल्क प्रदान गर्ने र राम्रो सेवा दिइने भएकाले आफूलाई कुनै समस्या भएमा आउने गरेको बताए।

उनले भने, ‘तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा जाँदा घन्टौँ लाइनमा बस्नु पर्छ तर त्यहाँ डाक्टरहरू बढीमा २ बजेसम्म मात्र भेटिन्छन्। यहाँ जतिबेला आए पनि डाक्टरहरू हुन्छन्। यहाँ औषधि पनि बिरामीहरूको अवस्थाअनुसार दिइन्छ। त्यसैले यो अस्पतालले मेरो मन जितेको छ। अब यसलाई माथि उठाउन हामी सबैले सहयोग गर्नु पर्छ।’

तुलसीपुर-८ दुधेनाका धनेश्वर पोखरेलले पञ्चकर्म तथा थेरापी गर्न लागेको ५ दिन भयो। उनले अस्पतालमा आएर यो सेवा लिएपछि केही सुधार हुँदै गएको बताए।

उनले आयुर्वेदिक उपचारमा निको हुन समय लाग्ने भए पनि निर्मूल हुने पनि बताए। उनले पहिला ढाड दुख्ने समस्याको लागि विभिन्न ठाउँमा उपचार गरे पनि त्यहाँ ठिक नभएपछि यहाँ आएको भन्दै अहिले पहिलेको तुलनामा केही सुधार हुँदै गएको भन्दै अस्पतालबाट राम्रो सेवा सुविधा पाएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.