|

सुनसरी : इनरुवामा अपांग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ।

इनरुवा-४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाइ छ। करणीको आरोपमा प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ। प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान समेत गरिसकेको छ।

यद्यपि पीडित परिवारले भने आफूहरूले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो गरेको छ। उनीहरूले पीडक पक्षले आफूहरूलाई मुद्दा फिर्ता लिन धम्की दिँदै आएको बताए। पीडितको घरमा केही दिनअघि आगलागी भएको थियो। जसलाई सुनियोजित दाबी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महसुस गरेको छ। मुद्दा फिर्ता लिन दिइँदै आएको धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो।

पीडितकी आमाले आफूलाई धम्की आउँदा छिमेकीहरूले समेत साथ नदिएको आरोप लगाइन्। घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ।

घरमा लागेको आगलागीको पछिल्लो घटनाबारे भने थप अनुसन्धान जारी रहेको प्रहरी बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.