|

रौतहट : जग्गा नामसारी गराइदिने बहानामा एक व्यक्तिले सासूलाई लाखौँको रुपैयाँको फर्जी तमसुक गराएको खुलासा भएको छ। जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरका धुपलाल साहकी श्रीमती गणपति देवीसँग रौतहटकै कटहरिया नगरपालिका–८ पिप्रा पोखरियाका शिवशरण साहका ठूल्दाइ रामविलास साहले जग्गा नामसारी गराउने बहानामा झुक्याएर २८ लाखको कपाली तमसुकमा सहीछाप गराएको रहस्य खुलेको छ।

पीडित गणपति देवीका पिप्रा पोखरियाका शिवशरण साह ज्वाइँ हुन् भने जग्गा नामसारी गराइदिने नाममा तमुसकमा सहीछाप गराउने रामविलास साह उनका ज्वाइँका ठूल्दाइ हुन्।

साहले गणपति देवीसँग जग्गा नामसारी गराइदिने भनी २८ लाखको कपाली तमसुकमा सहीछाप गराएर गणपति देवीको करिब ७० लाख मूल्य बराबरको घर घडेरी सहितको १९ कट्ठा जग्गा मुद्दा दिएर जिल्ला अदालत गौरमा रोक्का गराइदिएका छन्।

ज्वाइँ शिवशरण साहकै मिलेमतोमा रामविलास साहले आफूलाई झुक्याएर जग्गा नामसारी गराउने नाममा आफूसँग २८ लाखको कपाली तमसुक गराएको पीडित गणपति देवीले बताएकी छन्।

साहसँग आफूले एक रुपैयाँ नलिए पनि उनले विभिन्न मितिमा गरी आफूसँग २८ लाख रुपैयाँ ऋण लिएको भन्दै फर्जी तमसुक बनाई सहीछाप गराएको उनले बताइन्। आफूसँग २८ लाख रुपैयाँ ऋण लिएको भनी साहले आफ्नो करिब ६० लाख बराबरको १९ कट्ठा जग्गा अदालतमा रोक्का गराएर आफूमाथि ठूलो अन्याय गरेको दुखेसो उनले पोखिन्।

गणपति देवीका एक छोरा र चार छोरी रहेकोमा केही वर्षअघि उनको छोराको मृत्यु भयो। छोराको मृत्युपछि उनी निकै तनावमय जीवन बिताइरहेकी थिइन्।

छोराको मृत्युपछि एक वर्षअघि गणपति देवीका श्रीमान् धुपलाल साहको समेत मृत्यु भइसकेको छ। केही दिनकै अन्तरालमा छोरा र श्रीमान् दुबै गुमाएपछि गणपति देवी एक्लै भइन्। त्यसपछि गणपति देवीले लोनेको नाममा भएको सबै सम्पत्ति आफ्ना नाममा गराउने र आफ्ना चारैजना छोरीलाई बराबर सम्पत्ति बाँडफाँड गरिदिने निधो गरिन्। ग

णपति देवीले चारैजना छोरीलाई बराबर सम्पत्ति बाँडफाँड गर्न चाहेको सुइँको कान्छा ज्वाइँ शिवशरण साहले पाए। त्यसपछि उनले सासूको सबै सम्पत्ति आफू एक्लै हत्याउने दाउमा लागे। सासूको सबै सम्पत्ति एक्लै हत्याउन ज्वाइँ शिवशरणले आफ्ना ठूल्दाइ रामविलासलाई अघि सारे।

त्यसपछि पेशाले शिक्षक रहेका रामविलास साह गणपति देवीलाई जग्गा नामसारी गराइदिने झूटा आश्वासन दिएर फकाउन थाले। साहले गणपति देवीलाई राम्ररी फकाउन सफल भएपछि उनले गणपति देवीसँग जग्गा नामसारी गराउने भनी २८ लाखको कपाली तमसुकमा सहीछाप गराए। त्यसपछि साहले जिल्ला अदालत गौरमा गणपति देवीको करिब ७० लाख रुपैयाँ बराबरको सबै जग्गा जमिन रोक्का गराएका छन्।

आफूसँग लिएको २८ लाख रुपैयाँ गणपति देवीले ऋण तिर्न नसकेकाले उनको जग्गा पाउनुपर्ने भन्दै साहले जिल्ला अदालत गौरमा मुद्दा हालेका छन्। मुद्दा परेपछि उनको जग्गा रोक्का छ। आफूलाई झुक्याएर २८ लाखको कपाली झूटो कागज गराउने र आफ्ना सबै जग्गा जमिन रोक्का गराउने ज्वाइँ शिवशरण र उनका ठूल्दाइ रामविलास साह दुवैजनालाई हदैसम्मको कारबाही गर्न गणपति देवीले सम्बन्धित निकायसँग माग गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.