|

काठमाडौं ः शुक्रबार विक्रम सम्वत् २०७९ लाई विदाइ गर्दै नयाँ सम्वत् अर्थात २०८० साल लाग्दै छ। सबै नयाँ वर्षलाई स्वगत गर्न आतुर छौँ। यसबीच ०७९ सालमा शिक्षा क्षेत्र कस्तो रह्यो भनी चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ।

एकै वर्ष ३ शिक्षा मन्त्री फेरिए‚ जारी भएन शिक्षा ऐन

०७९ सालमा एकै वर्ष ३ जना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री फेरिए। नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल सालको शुरुमा शिक्षामन्त्री थिए। उनले १५ महिनाभन्दा बढी समय शिक्षा मन्त्रालय सम्हाले। ०७८ असोज २२ मा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पौडेल गत पुस ११ गते बिदा भए।

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल शिक्षामन्त्री भए। उनी गत माघ ३ गते शिक्षामन्त्री भएका थिए। उनी शिक्षामन्त्री भएको १९ दिनमै मन्त्रालयबाट बाहिरिए। 

अहिले जनता समाजवादी पार्टी (जसपा) का अशोक राई शिक्षामन्त्री छन्। एक वर्षमा ३ जना शिक्षामन्त्री फेरिँदा पनि शैक्षिक सुधार भने तीनैजनाले गर्न सकेनन्। पहिला त संघीय शिक्षा ऐन नै जारी गर्न सकेनन्। तत्कालीन शिक्षामन्त्री पौडेलले आफ्नो कार्यकालमा संघीय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाउँदै आए तर सकेनन्।

लामो समय शिक्षा क्षेत्रमा काम गरेकाले रास्वपाबाट शिशिर शिक्षामन्त्री भएपछि शैक्षिक क्षेत्रमा सुधारमा हुने अपेक्षा अधिकांशले गरेका थिए तर उनी एउटा निर्णयमा विवादित भएर सरकारबाट बाहिरिए।

उनले कक्षा १ देखि ५ सम्मको नयाँ पुस्तकको छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिने निर्णय गरेको भन्दै चर्को विरोध भयो। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले उनको पुतलासमेत दहन गरेको थियो। तर उनले भने यो निर्णय यसअघिकै सरकारले गरेको बताउँदै आएका छन्।

चुनाव प्रचारमा विद्यार्थी प्रयोग गर्दा गाली वर्षा 

०७९ मा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भयो। गत वैशाख ३० गते ७५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन भयो।

तर उक्त निर्वाचनमा निर्वाचन आचारसंहिता २०७८ विपरीत विभिन्न राजनीतिक दलका नेताहरूले बालबालिका/विद्यार्थी प्रयोग गरे। विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू खुलेआम निर्वाचन प्रचारप्रसार गरे।

धनकुटा, ओखलढुंगा, महोत्तरीमा चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको तस्वीर नै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आए।

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–८ मा रहेको जाल्पा माविका प्रधानाध्यापक कैलाश पौडेल सूर्य अंकित झण्डा बोकेर भोट माग्दै हिँडेको भिडियो, बारा जिल्लाको परवानीपुर गाँउपालिका–३ लिपनीमालस्थित भोज भगत माविका प्रधानाध्यापक बलिराम सर्राफ पनि चुनावी प्रचारप्रसारमा व्यस्त भएको भिडियोले सामाजिक सञ्जाल तात्यो।

यस्तै, दाङ क्षेत्र-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वली कात्तिक १५ गते चुनावी अभियानका दौरान दाङको बबई गाउँपालिका–१ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीहरूसँग बसेर भोट मागेको समाचार बाहिरियो। उनको पनि निकै आलोचना भयो। 

त्यसपछि निर्वाचन आयोगले कात्तिक १९ गते प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा वलीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अनुसार मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले २१६ पटक बालबालिका प्रयोग गरेको पाइएको थियो। 

एउटा स्कुल बस र ४ जना शिक्षकसमेत निर्वाचनमा प्रयोग भएको पाइएको छ।

यी घटनामध्ये बालबालिकाको प्रयोग चुनावी प्रचारप्रसार तथा र्‍यालीमा गरेका १४४ घटना, घरदैलोमा प्रयोग गरेका १२ वटा घटना, आमसभामा प्रयोग गरेका १८ वटा घटना, प्रचारप्रसार सामग्रीमा प्रयोग गरेको १३ वटा घटना र कलाकारका रूपमा प्रयोग गरेका २८ वटा घटना पाइएको हो।

नतिजा निकाल्ने बेलामा उत्तरपुस्तिका हराएर परीक्षा दिन बोलाएपछि

२०१६ सालमा स्थापना भएको देशकै पहिलो राष्ट्रिय शैक्षिक संस्था हो- त्रिभुवन विश्वविद्यालय। देशका लागि योग्य‚ कर्णधार, दक्ष जनशक्ति उत्पादन गर्ने त्रिवि ०७९ सालमा पनि विभिन्न विवादबाट अछुतो रहेन।

वार्षिक परीक्षा लिएको १५ महिनासम्म पनि नतिजा प्रकाशित नभएपछि विद्यार्थीहरू आन्दोलन गर्न बाध्य भए। त्रिविले नतिजा प्रकाशनमा ढिलाइ गरेपछि विद्यार्थीहरूले ‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, रिजल्ट कुर्न नसकेपछि खाडी गइसक्यो’ भन्दै विरोध गरेका थिए।

अर्कातर्फ नतिजा प्रकाशित गर्ने बेलामा उत्तरपुस्तिका हराएर त्रिविले पुनःपरीक्षा दिन बोलाएपछि विद्यार्थीहरू चकित मात्र भएनन् आक्रोशित पनि भए। ०७८ सालको माघमा भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्च मेथोडोलजी विषयको २०७ जना विद्यार्थीको पुनः परीक्षा लिने गरी त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका सार्वजनिक गर्‍याे।

चौथो वर्षको सि.न ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका परीक्षार्थीहरूको रिसर्च मेथोडोलजी विषयको परीक्षा ‘यही पुस २४ गते बिहान ८ बजेदेखि पुनः परीक्षा हुने भएकाले क्याम्पस परीक्षा केन्द्रमा अनिवार्य उपस्थित हुनुपर्नेछ’ भन्दै तालिका सार्वजनिक भयो। त्यसपछि पुनःपरीक्षा दिन बाध्य भए विद्यार्थीहरू। 

‘खाडीमा भेटौँला’ विदाइले निम्त्याएको बहस

यो वर्ष विद्यालयको पोसाकमा लेखेर विदाइ गरेको ‘खाडीमा भेटौंला’ ले चर्चा पायो। विदाइ कार्यक्रममा सम्झना अनि भविष्यको शुभकामना दिनुपर्ने बेलामा भक्तपुरको बागेश्वरी माविबाट विदाइ हुँदै गरेका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले सर्टमा ‘खाडीमा भेटौंला’ लेखेका थिए। 

यसबारे सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा अत्यधिक चर्चा भयो। यसले संसदमा समेत प्रवेश पायो। सिन्धुपाल्चोकका निराज तामाङ, काभ्रेका निराजन मैनाली, रामेछापका राजन मानन्धर र ललितपुर गोदावरीका विशन नगरकोटीले यसरी सर्टमा ‘खाडीमा भेटौंला’ लेखेका थिए।

टी–सर्टमा ‘खाडीमा भेटौंला’ भनी लेखेर राज्यविरूद्ध सांकेतिक विरोध गरेको निराजन मैनालीे बताउँछन्। ‘देशको स्थिति त्यस्तै छ, राजनीतिक परिवर्तन, भ्रष्टाचार, एसइई दिएपछि पार्टटाइम जब छैन, रोजगार छैन, साथीहरूले विदेश जाने योजना बनाइसके, त्यसैले हामीले सल्लाहमै त्यस्तो लेखेका हौँ,’ उनले भनेका थिए।

एसइई परीक्षामा नक्कली परीक्षार्थीदेखि मेयरसम्म पक्राउ 

यस वर्ष भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ठूलो संख्यामा नक्कली परीक्षार्थी भेटिए। प्रहरीले चैत २३ गते सामाजिक विषयको परीक्षा दिने क्रममा मोरङबाट २ सयजना नक्कली परीक्षार्थीहरूलाई पक्राउ गरेको थियो।  

मोरङका प्रहरी प्रवक्ता रन्जनकुमार दाहालका अनुसार नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आउने  केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना  पक्राउ परेका थिए। झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए।

कन्सलटेन्सीले परीक्षार्थीहरूसँग एसईई उत्तीर्ण गराउने ग्यारेन्टीका साथ ४० हजार रूपैयाँसम्म लिएको पनि पाइयो। यहीकारण एसईई परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै, रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुखलाई पक्राउ पुर्जीसमेत जारी भयो।

देवाही गोनाहीका मेयर प्रेमलाल साह (कानु) आफ्नै ज्वाईलाई खेताला बनाएर एसइई परीक्षा दिन लगाएकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढा मगरले बताए। यसपछि नगरप्रमुख साह फरार भएको बताइन्छ।

स्ववियु निर्वाचन

२०७९ मा शैक्षिक क्षेत्रमा केही सकारात्मक काम पनि भएका छन्। १४ वर्षदेखि नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गत चैत ५ गते भयो। त्रिविका ६२ आंगिक क्याम्पस छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार केही क्याम्पसहरूमा भने विभिन्न विवादका कारण निर्वाचन हुन सकेको छैन।

आरआर क्याम्पसमा पनि अझै निर्वाचन भएको छैन। उच्च अदालत पाटनमा रिट परेपछि उच्च अदालतले चैत १४ गते रोकिएको रत्नराज्य (आरआर), नेपाल कमर्श र पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरिसकेको छ तर पनि केही क्याम्पसमा चुनाव हुन सकेको छैन।

शिक्षाविद्को नजरमा शैक्षिक क्षेत्र

शिक्षाविद् डा.मीनबहादुर शाही कोरोनापछि २०७९ सालमा शैक्षिक क्षेत्रले गति लिन थालेको र सकारात्मक लयमा गएको बताउँछन्।

‘कोरोनापछि यस वर्ष नियमित रूपमै भौतिक उपस्थितिमा विद्यालयमै पठनपाठन भयो, पुरानै लयमा फर्काउन शिक्षकहरूले धेरै क्रियाशील रहे, सरकारले पनि पाठ्यपुस्तक समयमा पुर्‍याउन नियमित गर्न सहजीकरण गर्‍यो,’ उनले भने। तर पनि विद्यालयको शिक्षण सिकाइ जस्तो हुनुपर्थ्याे त्यो भने नभएको उनले बताए। 

‘प्रभावकारी व्यवस्थापन भएन, जुन अपेक्षा थियो- गुणस्तरमा सुधार भएन,’ उनले भने, ‘यो वर्ष पनि संघीय शिक्षा ऐन तयार भएन। शिक्षामन्त्री फेरिए, गृह, भौतिक अर्थ मन्त्रालय प्राथमिकतामा पर्‍यो, शिक्षा मन्त्रालयलाई प्राथमिकतामै राखेनन् दलहरूले।’ 

यो वर्ष संघीय शिक्षा ऐन बनाउन नसक्नु, प्रदेश शिक्षा ऐन बनाउन नसक्नु, स्थानीय तहले बनाएका ऐन कार्यान्वयन गर्न नसकेको उनले बताए। ‘समग्र शिक्षाको लागि सकारात्मक दिशातिर फर्केको तर गति वर्षमै रह्यो भन्छु म, किनभने सरकारले शिक्षक व्यवस्था गरेन, त्यसैले पुरानै झझल्को दिलायो,’ उनले भने।

मन्त्रालय भन्छ- लयमा फर्कियो शैक्षिक सत्र

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा ०७७ र ०७८ सालभन्दा ०७९ साल शिक्षा क्षेत्रका लागि निकै उपलब्धिमूलक भएको बताउँछन्।

उनले भने, ‘यो वर्ष ठिकै भयो, कोभिडले ०७७ सालमा ७/८ महिना पठनपाठनमा असर गर्‍याे, ०७८ मा थोरै असर पुग्यो। ०७९ सालमा पुरानो लयमा शैक्षिक सत्र फर्काउने भन्ने थियो, यो चैत मसान्तमा आइपुग्दा पुरानै लयमा फर्किएको छ।’

शिक्षण सिकाइमा पनि उपलब्धि मिलेको उनको भनाइ छ। ‘सिकाइ उपलब्धि नै भयो, कोरोनाबाट क्षति पुगेकोलाई रिकभर गर्न सिकाइ क्षति आपूरण योजना बनाइराखेका छौँ, यो नेपालमा मात्र नभई विश्वमै भएको समस्या हो। कोभिडले असर पारेको शिक्षण सिकाइ पाटो त बेग्लै छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.