पुस्तक पुगे-नपुगेको अनुगमन गर्न निर्देशन

|

काठमाडौं : नयाँ शैक्षिक सत्रका लागि यो वर्ष समयमा नयाँ पाठ्यपुस्तक छपाइ सम्पन्न भएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइ सकिएर पनि ७ वटै प्रदेशमा पुस्तक पुर्‍याएर धमाधम बिक्रीवितरण गरिरहेको जानकारी दिए।

उनका अनुसार सबै हिमाली जिल्लामा पनि पाठ्यपुस्तक पुगिसकेको छ। ‘हाम्रा सातवटै प्रादेशिक कार्यालय छन्। त्यहाँ पुस्तक पुगिसकेर पनि धमाधम बिक्रीवितरण भइरहेको छ’, उनले भने।

जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखराबाट पुस्तक विक्रीवितरण भइरहेको छ। त्यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाई त्यहाँबाट किताब वितरण भइरहेको उनले बताए। 

हालसम्म ४७ वटा जिल्लामा पुस्तक विक्री वितरण सम्पन्न भइसकेको उनले बताए। उनका अनुसार हुम्ला, डोल्पा‚ मुगु, सिन्धुपाल्चोक,गोर्खा, धादिङ लगायत जिल्लाहरूमा पुस्तक पुगिसकेको छ।

यसैगरी म्याग्दीमा पनि यो वर्ष समयमै सरकारी विद्यालयका पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरूलाई पाठ्यपुस्तक विक्रीवितरण गर्न थालेको जानकारी दिए।

महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलका अनुसार महासंघमा आबद्ध २८ जना व्यवसायीले सामूहिक रूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सरकारी विद्यालयलाई सहज रूपमा पाठ्यपुस्तकको उपलब्ध गराउन बिक्री केन्द्र स्थापना गरिएको छ।

गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कको आधारमा आगामी शैक्षिक सत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार ६७० जना विद्यार्थीलाई लक्षित गरेर पुस्तक पुगेको उनले बताए।  

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाले पूर्वको पाँचथर र धनकुटा जिल्लामा पुस्तक पुग्न बाँकी रहेको जानकारी दिए। ‘यता तराईका केही जिल्लामा पनि बाँकी छ’,उनले भने।

‘वैशाख पहिलो हप्ता सबै ठाउँमा पुग्छ’

प्रबन्ध निर्देशक झाले बाँकी सबै जिल्लामा वैशाखको पहिलो हप्ताभित्र नयाँ पुस्तक पुग्ने दाबी गरे। ‘सबै ठाउँमा वैशाख पहिलो हप्तामा पुस्तक पुग्छ’, उनले भने, ‘कहीँ छुटेमा वैशाख १५ मा पुग्छ, १५ गतेसम्म भर्ना अभियान भइरहनेछ’,उनले भने।

उनले अहिले पनि धमाधम पुस्तक ढुवानी भइरहेको जानकारी दिँदै यो नयाँ शैक्षिक सत्रमा कहीँ पनि पुस्तक अभाव नहुने जानकारी दिए। ‘यो वर्ष पर्याप्त पुस्तक छापेका छौँ, कही अभाव हुँदैन’, उनले भने। उनका अनुसार यो नयाँ शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको छ। 

पाठ्यपुस्तक उपलब्धताको अनुगमन गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ पाठ्यपुस्तक उपलब्धता तथा वितरण अवस्थाको अनुगमन गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन पनि दिइसकेको छ।

केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘विद्यालय तहका सबै विद्यार्थीहरूको सिकाइको मुख्य सामग्री पाठ्यपुस्तक नै भएकाले कक्षा १ देखि कक्षा १२ सम्मका सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालयमा भर्नासँगै निःशुल्क पाठ्यपुस्तक सेटमा उपलब्धताको सुनिश्चतता गर्न, वितरण तथा गुणस्तरको अनुगमन गर्न गराउनु अनुरोध छ।’ 

पुस्तकको मूल्य ५० देखि २५७ रुपैयाँसम्म 

जनक शिक्षाले पाठ्यपुस्तकको मूल्य तोकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सार्वजनिक गरेको मूल्यअनुसार नयाँ पुस्तकमा बढीमा २५७ रुपैयाँसम्म मूल्य कायम गरिएको छ। कक्षा-१० को विज्ञान विषयको २५७ रुपैयाँ मूल्य कायम गरिएको छ। यो सबैभन्दा बढी मूल्य हो।

कक्षा-९ को नागरिक शास्त्र विषयको मूल्य ५० रुपैयाँ तोकिएको छ। यो अन्य विषयको भन्दा कम मूल्य छ। पुस्तक सेटको आधारमा कक्षा-४ मा ६०४, कक्षा-६ मा ७१३, कक्षा-७ मा ७५३, कक्षा-८ मा ८८८,कक्षा-९ मा ८९६ मूल्य तोकिएको छ। कक्षा-१० मा ९१९, कक्षा-११ मा ३१२ र कक्षा-१२ मा ३८८ रुपैयाँ मूल्य कायम गरिएको छ।  

वैशाख १ देखि १४ गतेसम्म नयाँ भर्ना अभियान

देशभर वैशाख १ गतेदेखि नयाँ भर्ना अभियान शुरु हुने छ। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले यो अभियान दुई हप्ता अर्थात् वैशाख १४ गतेसम्म सञ्चालन हुने र त्यसपछि पठनपाठन हुने जानकारी दिए। 

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र कायम गरेको छ। शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रिस्तरीय बैठकले वैशाख १ गते शुरु भई चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको थियो।

सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना,समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ नारा सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.