|
फाइल तस्वीर

काठमाडौं : आज बिहीबार विक्रम सम्वत् २०७९ को अन्तिम दिन। यो वर्षलाई आज बिदा गरेर भोलि नयाँ वर्ष २०८० लाई स्वागत गरिँदै छ। राजनीतिक रुपमा यो वर्षमात्र नभएर ७० को दशक नै प्रतिकूलतामा बितेको छ।

सत्तरीको दशकले संविधान दियो तर राज्यका निकायहरु निकम्मा बन्दै गए। संविधानविपरीत २/२ पटक संसद विघटन गरियो। निर्वाचनपछि बन्ने सरकार बदलिने क्रम रोकिएन।

दलहरुभित्रको आन्तरिक कलहले संसद र सरकारले प्रभावकारी भूमिका खेल्न नसक्दा जनता मारमा परिरहेका छन्। संसद, सरकार र अदालत शक्ति, सत्ता र स्वार्थमै चलेको अनुभूति गर्न थालिएको छ।

जनताको होइन दलको स्वार्थले संसद बन्धक भएको र सरकार नेता र पार्टीको व्यवस्थापन र हितमै केन्द्रित हुनुले निरन्तरता पाएको छ। राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक अनेक दृष्टिले यो वर्षमात्र नभएर दशक नै प्रतिकूलतामा बित्यो।

दाउपेचमै अल्झिएको राजनीति

नेपाली राजनीतिमा यो वर्ष निर्वाचनमय रह्यो। आगामी पाँचवर्षे कार्यकालका लागि प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचन यसै वर्षमा सम्पन्न भयो। खासगरी प्रतिनिधिसभामा नयाँ राजनीतिक दलको उदयले पुराना दललाई चुनौती थपिदिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइन मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईमा थारू आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीले उत्साहजनक परिणाम हात पारे।

५ महिनाअघि दर्ता भएको रास्वपाले प्रतिनिधिसभामा २० सिट जितेर नयाँ तरंग ल्यायो छ भने पुराना दलभित्रका पुराना नेता जमानत जफत हुने अवस्थामा पुगेका छन्।

नेपाली कांग्रेसमा लामो समय रहेर अहिले रास्वपामा गएका अर्थविद् डा स्वर्णिम वाग्लेले राजनीतिक संस्कार बदल्नुपर्ने बताएका छन्। वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा तनहुँ क्षेत्र-१ बाट उम्मेदवार बनेका वाग्लेलाई नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले समेत समर्थन जनाएका छन्।

वाग्लेलाई पार्टीमा भित्र्याएर युवाको आकर्षण बनेका रास्वपाका सभापति रवि लामिछाने पनि पुराना दलबाट परिवर्तन सम्भव नहुने भन्दै नयाँलाई अवसर दिनुपर्ने बताइरहेका छन्।

अघिल्लो प्रतिनिधिसभामा पहिलो दल बनेको एमाले यसपटक दोस्रोमा खुम्चियो। कांग्रेस पहिलो पार्टी बन्दा माओवादी तेस्रो दलमा यथावत् रह्यो। अघिल्लो संसदमा एकसिटे राप्रपा संसद्को पाँचौं शक्ति बन्न सफल भयो।

चुनावको बेला मतदातासँग अनेकौँ प्रतिबद्धता जनाउने र जितेपछि ५ वर्ष फर्केर नजाने पुराना दलको रोग पुरानै हो। चुनावमा रातो तातो भाषण दिनेको कमी छैन‚ मिठो भाषण गर्ने अनि सांसद मन्त्री बनेपछि आफूले गरेको बाचा कसम भुलेर बाटो बदल्नेहरुलाई नयाँ पार्टीले पाठ सिकाउन खोजेको देखिन्छ।

युवाजति विदेशमा बुढाबुढी र केटाकेटीलाई फकाउने र फसाउने पुराना दलका कुरा देखेर जनता पनि आजित भइसकेका छन्। 

आम चुनावपछि राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिए पनि कुनै दलको बहुमत नआएपछि पुस ११ गते फुटेको गठबन्धन दुई महिना नबित्दै राष्ट्रपति चुनावबाट जोडियो। उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत नयाँ चयन भएका छन्। संघ र प्रदेशमा पनि नयाँ नेतृत्व आएको छ।

स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान र धनगढीसहितका पालिकाहरूमा स्वतन्त्र उम्मेदवारको अप्रत्यासित जितले पनि मूलधारका दलहरूलाई झट्का लागेको छ।

आर्थिक तवरमा दशक नै निराशाजनक

​गोर्खा भूकम्प र नाकाबन्दीबाट सुरु भएको दशक विश्वव्यापी कोभिड–१९ महामारीजस्ता विपत्ति र प्रकोपसँगै अन्त्य भएको छ।

कोभिड–१९ को प्रतिकूलता सम्हालिन नपाउँदै रुस–युक्रेन युद्धको प्रभावसँगै अस्थिर राजनीतिले जर्जर बन्दै गएको देशको अर्थतन्त्र पनि संकटबाट पार पाउन सकिरहेको छैन। पुँजीगत खर्च हुन नसक्नु र राजस्व संकलन लक्ष्यअनुसार नहुनुले अर्थतन्त्रको अवस्था नाजुक मोडमा छ।

अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरूमा दबाब र सरकारप्रति निजी क्षेत्रको टुटेको विश्वासमा सुधार नहुँदै यो वर्ष सकिएको छ।

वर्षको अन्तिम साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्सलगायत बाह्य सूचकमा सुधार आएको छ।

तर सरकार कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था रहेको बताइरहेको छ। यो दशक नै अर्थतन्त्रका लागि सकारात्मक नदेखिएको अर्थविद् डा अच्युत वाग्ले बताउँछन्।

करका दरहरू हेरफेर गर्न अनधिकृत व्यक्तिसँग साँठगाँठ गर्नेदेखि राष्ट्र बैकले जुन कसिलो मौद्रिक नीति ल्यायो त्यसले अर्थतन्त्रलाई झन् अप्ठेरोमा पारेको उनको तर्क छ।

कामुकै भरमा न्यायालय

न्यायालयको इतिहासमा २०७९ साल कायममुकायमकै भरमा बितेको छ। विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि २ जना कायममुकायम प्रधानन्यायाधीशले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका छन्।

दीपककुमार कार्की कामुमै सेवा निवृत्त भएपछि अहिले अर्का वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकायमको कार्यभार सम्हाल्दै आएका छन्। 

घट्यो ब्याज दर

बैंक तथा वित्तीय संस्थाहरुले बैंकर्स संघको पछिल्लो निर्णयअनुसार नयाँ वर्ष २०८० देखि लागू हुने गरी नयाँ ब्याज दर सार्वजनिक गरेका छन्।

नयाँ ब्याज दरअनुसार निक्षेपको अधिकतम ९ दशमलव ९९ प्रतिशत कायम गरिएको छ। यो यसअघिको दरभन्दा १ दशमलव शून्य १ प्रतिशतले कम हो। संस्थागत निक्षेपमा बैंकहरुले ७ दशमलव ९९ प्रतिशत ब्याज दर कायम गरेका छन्। नयाँ ब्याज दर भोलि वैशाख १ गतेबाट लागू हुनेछ।

रातोमा रोकिएको सेयर बजार

वर्षको अन्तिम दिन नेप्सेको वृद्धिमा ब्रेक लागेको छ। बुधबार ९२ दशमलव २२ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने २९ दशमलव ८ अंकले घटेर १९ सय ३४ दशमलव ४७ बिन्दुमा झरेको छ।

वर्षको अन्त्यमा पर्यटन क्षेत्रमा उत्साह

वर्षको उत्तरार्धमा महिनामै १ लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ।

कोरोना महामारीपछि एकै महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ। यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेतसमेत गरेको छ।

नेपाली नयाँ वर्षको पूर्वसंन्ध्यामा एकै पटक १ सय ८१ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन्। हिमालय एयरलाइन्सको जहाज चार्टर गरी बिहीबार बिहान आएको टोलीलाई संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे।

पर्यटकहरुले नेपाल र चीनको झण्डा बोकेका थिए। कोरोना महामारीपछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.