|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए। उनले थापाले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए।

उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गरे। उनले गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताए। पौडेलले सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे।

उनले भने‚ ‘गगन थापा हाम्रो गठबन्धनको मूल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ। सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो। आलोचना गरेर मात्रै सफल हुन्न। सहयोग गरेर सफल हुन्छ। मेरो सुझाव के छ भने त्यसप्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उनले सुझाव राख्दा राम्रो।’

सचिव पौडेलले माओवादी आन्दोलनलाई पुनःजीवित गर्नुको विकल्प नभएको बताए। उनले माओवादी घटकहरू छिटोभन्दा छिटो एकताबद्ध हुनुपर्ने बताए। उनले एकताबद्ध हुन ढिलो गरे ढुङ्गा खाने स्थिति आउनसक्ने उल्लेख गरे।

उनले भने‚ ‘एकता आवश्यक छ। ढिलो भएको छ। साथीहरू किन ढिलो गर्नुभएको छ ? सबै माओवादी घटकलाई म विशेष अनुरोध गर्न चाहन्छु, अब ढिला नगरौँ। ढिला नगरौँ, ढिला गर्दा ढुङ्गा खाने स्थिति आउनसक्छ। त्यसकारण छिटोभन्दा छिटो पुनःगठित हुने, शक्ति आर्जन गर्ने र अघि बढ्नुको विकल्प छैन।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए। उनले महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न आग्रह गरे।

उनले भने‚ ‘सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले सरकारलाई नजिक बसेर सहयोग गर्नेभन्दा पनि आलोचना बढी गरिराख्नुभएको छ। यो राम्रो होइन। सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो उहाँ त महामन्त्री नि हो। उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोल्नेभन्दा पनि सोच विचार गरेर बोल्नुपर्छ।’

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीप्रति अमर्यादित र अशिष्ट टिप्पणी गरेको भन्दै खेद प्रकट गरे। उनले पन्तले प्रतिनिधिसभा नियमावली विपरीत प्रधानमन्त्रीप्रति टिप्पणी गरेको भन्दै विरोध जनाए। उनले सांसद पन्तले आफू सदनमा आएको कुरा नै बिर्सेर संसदलाई गाईजात्रा ठानेको बताए।

उनले भने‚ ‘संसदमा माननीय रघुजी पन्तले प्रधानमन्त्री हराएको भनेर गरेको टिप्पणी अमर्यादित, अशिष्ट र अपमानजनक छ। सदन कुनै गाईजात्रा होइन। सदन भनेको नीति, निर्माणको थलो हो। यहाँ व्यक्तिगत टिप्पणी गर्न पाइँदैन। व्यवस्थित ढंगले सरकारका कमजोरीहरूको आलोचना गर्न पनि पाइन्छ। तर व्यक्तिगत लाञ्छना, टीकाटिप्पणी, अमर्यादित, अस्वभाविक, अशिष्ट र अपमानजनक ढंगले उहाँले जो अभिव्यक्ति गर्नुभयो त्यो खेदजनक छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.