‘बल्ल सरकार भएको आभास भयो’

|
फाइल तस्बिर

काठमाडौं : यो वर्ष नयाँ शैक्षिक सत्र शुरु हनुअगावै विकट जिल्लामा नयाँ पाठ्यपुस्तक पुगेको छ। डोल्पा, जुम्ला, हुम्ला लगायत जिल्लाका सम्बन्धित विद्यालय र स्थानीय तहमा पुस्तक पुगेको छ। यसअघि वर्षेनि शैक्षिक सत्र सकिन लाग्दा पनि पुस्तक नपाउने समस्या रहँदै आएको थियो।

कर्णाली प्रदेशको हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका प्रशासकीय अधिकृत लालप्रसाद ढकालले नयाँ पुस्तक आइपुगेको जानकारी दिए। ‘पुस्तक प्राप्त भइसकेको छ। यो वर्ष समयमै पुस्तक आयो’ ,उनले थाहाखबरसँग भने। उनका अनुसार अहिले नयाँ भर्ना अभियान चलिरहेको छ। भर्नासँगै पुस्तक पनि बाँड्ने काम भइरहेको उनको भनाइ छ।

सोही जिल्लाको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले पुस्तक व्यवसायहीले ल्याइसकेको र अबको तीन दिनभित्र प्राप्त हुने जानकारी दिए। ‘पुस्तक आउँदै छ, तीन दिनभित्र सबैलाई बाँडिसक्ने पुस्तक व्यवसायीले बताएका छन्’‚ उनले भने। उनले भर्ना अभियान शुरु भइसकेको बताए। 

‘भर्ना अभियान शुरु भएको छ। यसलाई अझै प्रभावकारी बनाउन घरदैलो अभियान नै चलाउने भन्ने कुरा छ। हामी बैठक केही दिनभित्रै बसेर थप प्रभावकारी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्छौ’, उनले भने। उनका अनुसार गाउँपालिकाभित्र २३ वटा सामुदायिक र ३ वटा निजी विद्यालय सञ्चालनमा छन्।

डोल्पा जिल्लाको काइके गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले गाउँपालिकामा पुस्तक आइसकेको जानकारी दिए। उनका अनुसार अब पुस्तक वितरण हुन बाँकी छ।

यसैगरी जुम्ला जिल्लाका चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि यो वर्ष गाउँपालिकामा समयमै पुस्तक पुगेको जानकारी दिइन्। ‘पहिलाका वर्षहरूमा पुस्तक समयमा पुग्दैनथ्यो’, उनले थाहाखबरसँग भनिन्, ‘यो वर्ष पुस्तक आइपुग्यो। भर्ना अभियान चलिरहेको छ। बल्ल केन्द्र, प्रदेश सरकार भएको आभास भएको छ।’ आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले पनि जानकारी दिए।

५९ जिल्लामा पुग्यो पुस्तक, बाँकीमा वैशाख १० भित्र पुग्ने

सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म ७ वटै प्रदेशमा पुस्तक पुगेको र त्यहाँबाट ५९ जिल्लामा पुस्तक पुगिसकेको जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका  प्रबन्ध निर्देशक अनिलकुमार झाले अब बाँकी जिल्लामा ढिलोमा वैशाख १० गतेभित्र पुग्ने जानकारी दिए।

जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखराबाट पुस्तक विक्रीवितरण भइरहेको छ। त्यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाई त्यहाँबाट किताब वितरण भइरहेको उनले जानकारी दिए।

यो वर्षको नयाँ शैक्षिक सत्रका लागि निजी क्षेत्रले कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १० सम्मको पाठ्युपस्तक छपाइको जिम्मा केन्द्रले पाएको थियो। केन्द्रका अनुसार जनक शिक्षाले १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने वेला सबै छपाइ सकिएको छ। निजी क्षेत्रले कुल १ करोड १२ लाख ५६ हजार थान पुस्तक छापिसकेको छ। 

‘यो वर्ष इतिहास कायम गछौँ’

यतिवेला देशभर वैशाख १ गतेदेखि नयाँ भर्ना अभियान शुरु भइरहेको छ। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीका अनुसार यो अभियान दुई हप्ता अर्थात् वैशाख १४ गतेसम्म सञ्चालन हुने छ र त्यसपछि पठनपाठन हुनेछ। 

सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ नारा ल्याएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र कायम गरेको छ। शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रिस्तरीय बैठकले वैशाख १ गते शुरु भई चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको थियो।

समयमा पुस्तक पुर्‍याउन सरकार समेत लागि परेको देखिन्छ। सोमबार प्रधानमन्त्री सचिवालय पाठ्यपुस्तक छपाइ र बिक्री वितरणको अवस्थाबारे जानकारी लिन केन्द्र पुगेको थिए। त्यहाँ पुग्दा केन्द्रका अधिकांश छापाखाना सञ्चालनमा थिए। तराईका केही जिल्लामा पुस्तक लैजान केही ट्रक तयारी अवस्थामा रहेको देखियो। 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाले यो वर्ष समयमै सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याएर वर्षेनि नपुग्ने इतिहासलाई ब्रेक गर्ने दाबी गरे। उनी भन्छन्, ‘यो वर्ष समयमा पुस्तक पुर्‍याएर इतिहास कायम हुनेछ, सदाझैँ नपुग्ने समस्या अब दोहोरिदैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.