|

काठमाडौं : उपनिर्वाचनका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु हुने भएपछि दलहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटेका छन्। 

सत्ता गठबन्धन र प्रतिपक्षी दलका शीर्ष नेता आज बारामा केन्द्रित हुँदैछन्। गठबन्धनले बाराको महागढीमाई मन्दिर परिसरमा चुनावी सभा आयोजना गरेको छ। 

दिउँसो १ बजे सुरु हुने सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताले सम्बोधन गर्ने जसपाका नेता प्रदीप यादवले जानकारी दिए। 

बारा २ मा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

प्रतिपक्षी नेकपा एमालेले पनि आज शीर्ष नेताको उपस्थितीमा बारामा चुनावी सभाको आयोजना गर्दैछ। पचरौतामा दिउँसो २ बजे हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने बाराकी सांसद ज्वालाकुमारी साहले जानकारी दिइन्।

एमालेले उपनिर्वाचनमा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। 

बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.