|

काठमाडौं : आकर्षक रोजगारीको प्रलोभनमा पारेर ओमन पुर्‍याएर मानव बेचबिखन गर्ने दुईजना समातिएका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले इलाम फाकफोकथुम गाउँपालिका-६ घर भइ काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक घर भइ ललितपुर भैंसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङलाई पक्राउ गरेको हो।

उनीहरुले वैदेशिक रोजगारका लागि ओमानमा फ्रि भिसा र फ्रि टिकटमा मासिक ६० हजार रूपैयाँ कमाइ हुने घरेलु काममा पठाइदिन्छु भनेर पीडितलाई प्रलोभनमा पारेका थिए।

२०७९ साल माघ २१ गते पीडितलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओमानको भिजिट भिसामा दुबई ट्रान्जिट बनाएर ओमानको अल-घुब्रा सल्टनेटमा पुर्‍याएको ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उनका अनुसार उनीहरुले पीडितलाई ओमानमा एउटा कम्पनीमा राखी ३५ सय ओमानी रियलमा घरमालिकलाई बिक्री गरेका थिए। घरमालिकले शारीरिक तथा मानसिक यातना दिइ २२ घण्टासम्म काममा लगाएको पीडितले बताएका छन्।

कामकै क्रममा अचानक बेहोस भएपछि घरमालिकले पुनः कम्पनीमा फिर्ता गरेपछि कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाएका थिए। पीडितले नेपालमा रहेका भाइसँग कुरा गरेपछिमात्र घटना बाहिरिएको थियो।

साथै भाइको सुझावअनुसार पीडित कम्पनीबाट भागेर ओमनस्थित नेपाली दूतावासमा पुगेका थिए। दूतावासमा ६ दिन बसेर नेपालबाटै हवाई टिकट पठाएपछि २०७९ फागुन २९ गते पीडित स्वदेश फर्कन सफल भएका थिए।

उनीहरूले दिएको उजुरीको आधारमा बेचबिखनमा संलग्न लिम्बु र तामाङलाई पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक पंगेनीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.