|

पर्वत : जागृति बाल तथा युवा सरोकार नेपाल किशोरी समूहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं गण्डकी  प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहबीच महिला तथा बालबालिकाको  संरक्षण र अधिकार कार्यान्वयन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो।

बालबालिका सशक्तीकरणको अभियानमा रहेका किशोरीहरूको समूहको ध्यानाकर्षण पत्र बुझ्दै कानुनमन्त्री गाहामगरले आफ्नो तर्फबाट माग सम्बोधन गर्न सक्दो पहल गर्ने बताए।

उनले बालबालिका तथा युवाहरू राष्ट्रिय गौरव रहेको उल्लेख गर्दै मन्त्री गाहामगरले किशोरीलाई सशक्तीकरण, बालमैत्री, पोषणमैत्री, युवामैत्री तथा कानुनले व्यवस्था गरेको बाल अधिकारको संरक्षण गर्न आफू सधैँ लाग्ने बताए।  उनले किशोरी समूहले प्रदान गरेको पत्रलाई मन्त्रालयमा दर्ता गराएर यथोचित सम्बोधन गर्न तदारुकताका साथ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उक्त समूहले बुझाएको ध्यानाकर्षण पत्रमा प्रदेशको बालबालिका सम्बन्धी ऐनको व्यवस्था स्वीकार्य रहेकाले कार्यान्वयनका लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरू र संयन्त्र व्यवस्था गर्न माग गरिएको छ।

यस्तै बालबालिकालाई राष्ट्रिय गौरव हो भन्ने नारालाई आत्मसात गरी बालबालिकामा लगानीको सुनिश्चितता गर्न माग तथा विद्यालय, तथा स्वास्थ्य संस्थाहरूमा बालिका तथा किशोरी सरोकार समूहको गठनका साथै प्रत्येक विद्यालयमा स्टाफ नर्स, स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने माग उल्लेख छ।

बाल विवाह र अन्य हानिकारक अभ्यासको अन्त्यका लागि प्रदेश सरकारको रणनीतिक कार्य योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने पनि किशोरी समूहले माग गरेको छ।

किशोरीहरूका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्वीजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाइ केन्द्र स्थापना भएकाले यस प्रदेशभित्रका अन्य स्थानीय तहमा पनि स्थापना गर्न पहल गर्न माग राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.