|

सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यका मुख्यमन्त्री हुँदा त्यहाँ भएको दंगामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा खेप्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतको एक अदालतले बिहीबार सफाइ दिएको छ।

११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा ५९ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको र यसैलाई लिएर भएको हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो।

हिन्दू राष्ट्रवादी नेता मोदीमाथि घटनालाई नजरअन्दाज गरेको आरोप लागेको थियो। सन् २०१४ मा प्रधानमन्त्री बनेका उनलाई केही समयका लागि अमेरिकाको यात्रा गर्न प्रतिबन्धसमेत लगाइएको थियो। मोदीलाई सन् २०१२ मा सफाइ दिइएको थियो।

एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दू समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै बिहीबार सकिएको यो मुद्दा ११ जना मुसलमानको मृत्युमा केन्द्रित थियो र १४ वर्षसम्म चलेको थियो।

हत्या, हत्याको प्रयास र दंगाको आरोपबाट मुक्त भएपछि आरोपी र उनीहरूका समर्थकहरूले हिन्दू नारा लगाएका थिए र अहमदाबादको अदालतबाहिर धेरैले आँसु झार्दै रोएका थिए।

पूर्वमन्त्री माया कोडनानीलाई यसअघि ९७ जनाको मृत्यु भएको अर्को दंगाको घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो तर पछि उनलाई पनि सफाइ दिइएको थियो।

भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो। मुद्दामा कूल १८८ जना दोषी ठहर भएका छन् भने ३१३ जनाले सफाइ पाएका छन्।

गत अगष्टमा १४ जना मुसलमानको हत्या गरेको अभियोगमा जेलमा रहेका ११ जनालाई रिहा गरिएको थियो। सामूहिक बलात्कारमा परेकी बिलकिस बानो नामकी एक महिलाले आफ्ना बलात्कारीको रिहाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेकी छन्।

यसैबीच विपक्षी दल कांग्रेसकी शमा मोहम्मदले फैसलाप्रति विमति जनाउँदै बिहीबार गरेको ट्वीटमा गुजरातको न्याय प्रणाली एउटा ‘ढोंग’ मात्र भएको बताएकी छन्।

यसअघि रेलमा भएको आगलागीमा आपराधिक षडयन्त्र र हत्याको अभियोगमा ३१ जना मुसलमानलाई दोषी ठहर गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.