विराटनगर : ‘जारी’ शब्द म बालक हुँदा बुवाआमाले गफ गर्दा सुनेको बाहेक मैले यथार्थमा देखेकी थिइनँ। बाआमाले नजिकबाट देखेका जारीका कथा खुबै गर्नुहुन्थ्यो तर चासोका साथ मैले कहिल्यै सोध्ने चेष्टा गरिनँ। जब कवि एवं लेखक उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र जारी हेरेर अनुमान लगाएँ, यो केवल चलचित्र मात्रै होइन हामी जस्ता लिम्बू संस्कार र संस्कृति नजान्नेहरूका लागि एउटा पुस्तक हो।
बुवा लिम्बू र आमा याख्खा दुई समुदायबीचको अन्तरघुलन भएर पनि भाइ र मैले दुवैतिरको संस्कार सिक्ने अवसर पाएनौँ। बुवा संखुवासभा जिल्लाको चैनपुरमा मिश्रित समुदायमा हुर्किनुभयो भने हामी सदरमुकाम खाँदबारी नेवारको बाहुल्य भएको ठाउँमा हुर्किएका हौँ। मेरो परिवारका सबै सदस्य आफ्नो भाषा र संस्कारबाट टाढा छन्। त्यसैले पनि जारी मेरा लागि एउटा विद्यालयमा समावेश गरिएको पुस्तकझैँ महसुस भएको हुनुपर्छ। मौलिकतालाई टपक्क टिपेर चलचित्रमार्फत लिम्बू समुदायको संस्कारलाई समावेश गर्नु उपेन्द्र सुब्बाको खुबी बडो गजब लाग्यो।
त्यसैमा प्रेम, घृणा, अपमान, सम्मान त्याग र समर्पण साथै विश्वासलाई जोडेर एक दम्पतीको बिछोड र मिलनको कथालाई सरल तरिकाले जोड्नु अहिलेको पुस्ताका लागि प्रेमको परिभाषा पनि बुझाउन खोजिएको जस्तो अनुभूति भयो। धान नाच, त्यसमा पनि पालम गाएर जितेर आफ्नो बनाउनुपर्दा जारी तिर्नुपर्ने बाध्यता र बिग्रिएको सम्बन्ध चलचित्रमा देखाइएको छ। कथाका पात्र र त्यो अनुसारको ठाउँ, वेषभूषा र संवादले पर्दामा हेरिएको चलचित्रभन्दा पनि पूर्वी पहाडी जिल्ला पाँचथरको कुनै भेगमा बसेर समाजलाई नियालिरहेको झैँ महसुस गराउन सक्नु सुब्बाको निर्देशन यात्रामा डेब्यु हो भन्ने लाग्दैन।
कथा शुरु हुँदादेखि कहिले हाँसेर त कहिले रोएर चलचित्र हेर्दै गर्दा कथामा समावेश भएका प्रत्येक घटनाले मन एकतमासले तानिरह्यो। अब के होला? भन्ने प्रश्नका तिरले मनमा प्रहार नगरेको पनि होइन। त्यसो त लिम्बू समुदायमा जारी विद्रोहको एउटा रूपमा पनि लिन सकिन्छ। विवाह हुँदा लिम्बू चेलीले सिन्दूर र पोते लगाउने चलन छैन। लगन गर्दा लिम्बू समुदायकी महिलाले ओढेको घुम्टोमा युप्पारुङ (पैसा जस्तो सिक्का) बाँध्ने चलन छ। युप्पारुङ महिलाहरूलाई दिइने स्वतन्त्रताको अधिकार रहेको भन्ने बुझिन्छ।
आफूलाई श्रीमान्सँग चित्त नबुझे या बस्न मन नपरे युप्पारुङ श्रीमान्को निधारमा फालेर आत्मनिर्णय लिन सक्ने अधिकार दिइएको हुन्छ। नामसाङ (दयाहाङ) र हाङमा (मेरुना मगर) को विवाह भएको पाँच वर्षसम्म पनि बच्चा नहुँदा उत्पन्न भएको विवाद नै झगडाको मुख्य कारण चलचित्रमा देखिएको छ। श्रीमान्-श्रीमतीको विवाद मात्रैले भन्दा हाङमामाथि नामसाङले उठाएको लात्तीले दर्शकको मनमा श्रीमान्प्रति आक्रोश र श्रीमतीप्रति दया उत्पन्न हुन्छ। त्यही झगडाकै कारण श्रीमान्को निधारमा युप्पारुङ फालेर माइत जाँदाको दृश्य आफूमाथि भएको अन्यायविरुद्ध विद्रोह आदिवासी महिलाले गर्न सक्छन् भन्ने विषय कथामा समावेश गर्न खोजिएको छ।
धनी र गरिबबीचको खाल्डोमा माइतीले तिर्न नसकेको जारी रकम र पुनः आफ्नै पूर्वपतिको घरमा गोठालो बस्नुपर्दाको बाध्यतालाई कथाले बगाएको नदीको धारमा एकतमासले बगेको छ। जारी तिर्न नसकेर गोठालो बस्न आएकी हाङमाको सहनशीलता र मौनताले विस्तारै सुमधुर हुँदै गरेको सम्बन्धले जातभित्रको संस्कार मात्रै नभएर प्रेम निभाउने संस्कार पनि चलचित्रले देखाउन खोजेको छ।
नामसाङको कठोर मनलाई हाङमाको मौनताभित्रको प्रेम र साथले विस्तारै सम्बन्धमा लागेको कालो दाग मेटाउन सफल भएको दृश्यले मन यसै तानिरह्यो। झुक्न सके सम्बन्धको ठूलो खाडल पनि पुर्न सकिने रहेछ भन्ने चलचित्रले देखाउन खोजेको छ।
लिम्बूको छोरा हुँ भन्दै आफूलाई परिचित गराउन सकस भएको मंगलसिंह (विजय बराल) को त्यो दृश्य घरिघरि धक खोलेर हँसाउन सक्ने खुबी गजब लाग्यो। जातअनुसार नमिलेको अनुहारमा आफ्नो पहिचान खुलाउन उनलाई निकै सकस परिरहँदाको क्षण र आफू लिम्बू जस्तो नदेखिँदा बिहे हुन नसकेको दृश्य त छँदै छ। उनको कबड्डीको विकेबाट लिम्बूको छोरा घिमिरेको भान्जा पात्रले पनि बहुत सुहाएको छ। उनको अभिनयको विषयमा बयान गर्न शब्द खोज्न निकै समय लाग्छ।
त्यसो त जारीमा अभिनय गर्ने कुनै कलाकारमा कहीँ खोट लगाउने ठाउँ छैन। चलचित्रमा समावेश भएका पात्रहरूको कला र अभिनय एउटा पाटो छँदै छ। यसमा विशेष सुन्दर बनाउने भूमिकामा ध्वनि पनि रहेको छ। सेकेन्ड, सेकेन्डमा पृष्ठभूमिमा बज्ने संगीतले चलचित्रको सुरुदेखि अन्तिमसम्म मिठास छाएको छ। झुमा लिम्बू र गंगा थापाको संगीतले चलचित्रलाई जीवन्त राख्ने महत्त्वपूर्ण भूमिका खेलेको छ।
चलचित्रमा समावेश भएका सबै पाटो प्रशंसनीय छन्। तीमध्ये थोरै खड्किएको कुरा हाङमाको दोस्रो पति रोय श्रेष्ठको अन्तिम दृश्य अलिक हतारमा भएझैँ लाग्यो।
चलचित्रको कथाको सुरुवात नै पालमबाट हुन्छ। हाङमाले पालम (वचनमा) हारेर, अर्को पक्ष अर्थात् उनको दोस्रो श्रीमान्को जितपछि चलचित्रको कथा सुरु हुन्छ।
पालममा जितेर आफ्नी बनाइएकी श्रीमतीलाई त्यही पालममा हारेर चुपचाप फर्किनु कथाको माग थियो या जित्ने कोसिस नै नगरी हार बेहोरेको भन्ने दृश्य खड्किने विषय रह्यो। कवितामार्फत सशक्त प्रस्तुत हुने उपेन्द्र सुब्बा पहिलोपटक चलचित्रमार्फत दमदार ढंगले प्रस्तुत भएको छन्। चलचित्रमार्फत लिम्बू समुदायको संस्कार, संस्कृति र भाषालाई दस्तावेजीकरण गर्ने जमर्को गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।