|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्‍याउने राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकारपछि नपर्ने चेतावनी दिए।

उनले काठमाडौंको कोटेश्वरमा ‘फलाईओभर’ निर्माण गर्ने तथा उपत्यकाका अरु केही स्थानमा देखिएको यातायातको चाप व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख गरे। 

कर्णालीको सदरमुकामसँग राष्ट्रिय सडक सञ्जाल जोड्न तीव्रतापूर्वक नेपाली सेनाले काम गरिरहेको बताउँदै मन्त्री ज्वालाले जनकपुर क्षेत्रका सडक र कमला पुलको पुनः डिजाइनको काम भइसकेकाले अब कसरी अघि बढ्ने भन्ने बारेमा निर्णय गरिने उल्लेख गरे।

मुग्लिन–पोखरा सडकखण्डको केही क्षेत्रको काम तीव्र गतिमा अघि बढे पनि केही क्षेत्रले अझै गति लिन नसकेको जानकारी दिँदै उनले ओखलढुङ्गा र खोटाङ जिल्लाका सडकलाई पनि प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाए।

यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारीचालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्था केही समयभित्र अन्त्य गरिने बताए।

अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उनको भनाइ छ।

यात्री विद्युतीय मोटरसाइकल दर्ताको सम्बन्धमा सरोकारवालासँग छलफल गरी कार्यविधि संशोधनको तयारी गरिएको जनाउँदै उनले यातायात क्षेत्रमा सुधारका काम गरिएको र यसलाई तीव्र गतिमा अगाडि बढाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.