|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालू खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन्।​

बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले पछिल्लो समय आयातमा कमी आउँदा राजस्व संकलन गत वर्षको भन्दा घटेको बताए। उनले राजस्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालू खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए।

उनले भने, ‘नेपाल सरकार र राष्ट्र बैंकले लिएका नीतिले गर्दा गत असोजबाट शोधनान्तर बचत हुन गई विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थाल्यो। शोधनान्तर स्थितिमा आएको सुधारसँगै सरकारले  केही वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाएको छ। राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था हटाएको छ।’

उनले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए। उनले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको बताए। उनले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको खुलासा गरे।

गभर्नरले १० विलासी वस्तुको आयात रोके पनि शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए। उनले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताए।

उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे। गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको जानकारी दिए। उनले बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्था सुधार हुँदै आएको बताए।

त्यसैगरी पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटे पनि जोखिम बढ्नसक्ने बताए। उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने उल्लेख गरे।

उनले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताए। उनले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताए। उनले राष्ट्र बैंकले लिने मौद्रिक नीति मध्यमार्गी हुन जरुरी रहेको बताए।

त्यसैगरी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताइन्। उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.