|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएरसँगै लैजानुपर्ने बताएका छन्।

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए। उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए। उनले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए।

उनले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए। उनले सबै राजनीतिक दल र नेताहरु गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताए। उनले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गरे।

उनले भने, ‘जनताले भनेका छन्, तिमीहरुले होस पुर्‍याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ। धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ। कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो। गरिबीको बिरुद्धमा एकजुट होऔँ। र जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ।'

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाए। उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताए। उनले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताए।

उनले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताए। उनले अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्रायः रहेको दाबी गरे।

मन्त्री किराँतीले देशका कानून संशोधन गरी अघि बढ्नुपर्ने बताए। उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए।

उनले भने, ‘हामीले आवश्यक कानुन सच्याउनुपर्छ। हिमालमा गएर प्याराग्लाइडिङ गर्ने व्यवस्था हुनुपर्छ। हिमालमा स्काइ ड्राइभिङ गर्ने व्यवस्था हुनुपर्छ। हिमाल चढ्ने होइन, हिमाल भगवान हो, परबाट ढोग्ने हो, भन्ने मानसिकताले बनाएको कानून हो, समयअनुसार चल्नुपर्छ। तपाईले एउटा व्यवसाय दर्ता गराउन जानुस्, सात वटा मन्त्रालय धाउनुपर्छ। २२ वटा विभाग धाउनुपर्छ। २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्छ भने व्यवसायी के हुन्छन् ? पर्यटनको क्षेत्रमा कानून बनाउँदा तपाईहरुको साथ चाहिन्छ। हाम्रो रगतमा भ्रष्टाचार छ, जतिसुकै भन्नुस्।’

मन्त्री किराँतीले नेपालीहरुको रगत रगतमा भ्रष्टाचार रहेको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.