|
फाइल फोटो

काठमाडौं : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। यो समस्या वर्षौँदेखिको हो। 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर संकलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। 

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्यांक छैन। कुकुरलाई कुनै संकेत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन्।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताउनुभयो। उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताउनुभयो।

‘सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्यांक राख्न सम्भव छैन’, उनले भने, ‘दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि ढोकामा रहेका फराकिलो प्वालका कारण कुकुर सजिलै आउजाउ गर्छन्।’

उनका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन। 

‘तीन महिनाअघि यहाँका कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्वको खोप लगाइएको थियो तर अहिले बन्ध्याकरण गरिएका र खोप लगाइएका कुकुरको पहिचान गर्ने अवस्था छैन। तिनीहरू सिंहदरबारभित्र वा बाहिर छन् यसै भन्न सकिँदैन’, उनले भने।

सिंहदरबारसहित महानगरपालिकाभरिका कुकुर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९\८० मा ५० लाख रुपैयाँ विनियोजन गरे पनि कुकुरको ‘फिडिङ जोन’ निर्धारण गरिएको देखिँदैन। काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सधैँ बाहिर–भित्र गरिरहेकाले सिंहदरबारभित्रका कुकुरको सङ्ख्या यकिन गर्न सक्ने अवस्था छैन। 

‘खोप लगाइएका र बन्ध्याकरण गरिएका कुकुरलाई रङ लगाइन्छ। त्यो रङ बढीमा एक हप्ता बस्छ’, उनले भने, ‘रङअनुसार उनीहरूको तथ्यांक प्रविष्ट गरिएको हुन्छ। रङ खुइलिएसँगै उनीहरूको पहिचान पनि हराउँछ।’

सिंहदरबार वा बाहिरका कुकुरलाई कामपाले खानेकुरा उपलब्ध गराउँदैन। कुकुरले आफैँ खोजेर खान्छन्। सिंहदरबारसहित काठमाडौंको सडकमा करिब २२ हजार कुकुर रहेको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.