|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा संचालित कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ।

तीनपोखरी समाज विकास क्लबको आयोजनामा भएको कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाका सृजल पोख्रेल र प्रविन लिङथेपको जोडीले जितेको छ।

खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्न वैशाख १५ गते कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो। खाँदबारीमा सञ्चालित प्रतियोगिताको उपाधि संखुवासभाका पोख्रेल र लिङ्थेपको जोडीले तेह्रथुमका नविन सिलवाल र विवेक कान्दावाको जोडीलाई २५–२२ र २१–१५ को सोझो सेटमा हराएर जितेको हो।

संखुवासभाका पोख्रेल र लिङ्थेपले नगद ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेह्रथुमका सिलवाल र कान्दावाले नगद ३० हजारका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेको तीनपोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले  जानकारी दिए।

सान्त्वना भएका भोजपुरका निश्चल क्षेत्री र विशाल तामाङ र मोरङका लाक्पा शेर्पा र महेश खड्काको जोडीले नगद १०/१० हजार रूपैयाँ‚ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ११ टिमको सहभागिता रहेको तीनपोखरी क्लबका तुलाराम आलेले बताए। तीनपोखरी क्लबले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.