म्याद थप्दै, ठेकेदारलाई उन्मुक्ति दिइँदै

|

काठमाडौं : चावहिल गंगाहिटीस्थित ११ वर्षदेखि अलपत्र परेको मालपोत कार्यालय चावहिलको भवन कहिलेसम्म बनिसक्छ भन्ने अझै अनिश्चित बनेको छ। ठेकेदारको चरम लापरबाही र सम्बन्धित निकायले यसलाई कडाइकासाथ चासो नदिँदा साँघुरो कार्यालयबाट सेवाग्राहीहरूले सेवा लिन बाध्य भएका छन्। 

धोबीखोला करिडोरमै नयाँ भवन निर्माणाधीन छ। मालपोत कार्यालय चावहिलको भवन निर्माणका लागि २०६९ साल वैशाख ६ गते २ वर्ष अर्थात् २०७१ साल वैशाख ५ गतेसम्ममा सम्पन्न गर्ने गरि श्री विकोई स्काई जे.भी.सँग ठेक्का सम्झौता भएको थियो।

तर ठेक्का लागेको ११ वर्ष बितिसक्दा पनि भवन निर्माणले पूर्णता पाएको छैन। अहिले शौचालय निर्माण भइरहेको देखिन्छ। अझै भवनको पर्खाल लगाउनेलगायत फिनिसिङको काम सकिएको छैन। 

नेपालमा कोरोना संक्रमण फैलिएपछि देशमा लकडाउन भयो। त्यो बेला निर्माण गरिएको नयाँ भवनको रेलिङको बरन्डा भत्किएको थियो। त्यसपछि हतारहतार मर्मत भयो। अहिले रङ भने लगाइएको छ।

मालपोत कार्यालयका अनुसार यो भवन बनेपछि नापी कार्यालय चावहिल पनि यही भवनमा सर्ने तयारी छ। नापी र मालपोतका लागि भनेर बनाइएको यो संयुक्त भवन चार तलाको छ। 

भवन नबन्दा लाखौँ भाडा तिरेर निजी भवनबाट सेवा

समयमा आफ्नै भवन नबन्दा मासिक लाखौँ भाडा तिरेर निजी भवनबाट सेवा प्रवाह भइरहेको छ। अहिले नापी कार्यालय चावहिलको चलचित्र विकास बोर्ड अगाडिको एउटा निजी भवनमा सञ्चालन भइरहेको छ। नापी कार्यालय चावहिलका अनुसार मासिक १ लाखभन्दा बढी भाडा तिर्दै आएको छ।

अर्को, मालपोत कार्यालय भने गोपीकृष्ण हल अगाडिको एक निजी भवनमा सञ्चालन छ। २०७२ सालदेखि सो भवनमा कार्यालय सञ्चालनमा छ।

मालपोत कार्यालयका अनुसार ०७२ भदौ १५ गतेदेखि मासिक १ लाखभन्दा बढी भाडा तिर्ने गरी सम्झौता भएर सेवा सञ्चालन भइरहेको छ। तर कार्यालय साँघुरो हुँदा सेवाग्राहीहरूलाई सकस छ।

म्याद थप्दै, ठेकेदारलाई उन्मुक्ति दिँदै

यतिका वर्ष हुँदा पनि उक्त भवन प्रयोगविहीन छ। पटक पटक म्याद थप भएको छ। मालपोत कार्यालय चावहिलका प्रमुख देवीबहादुर भण्डारी ठेकेदारले काम नगरेकाले पछि थपेको म्याद पनि सकिएको बताउँछन्।

यसरी काम नगर्दा पनि सरकारले ठेकेदारलाई कारबाही गर्नुकाे साटो म्याद थपेर उन्मुक्ति दिँदै आएको छ।

 थप अझै म्याद थपिदिने मुडमा मालपोत कार्यालय चावहिल छ। मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत भण्डारीका अनुसार पुस मसान्तबाट म्याद थपिएको छैन। ‘म्याद सकियो तर काम सकिएन, भवन विभागले के कति काम भयो भनि अब हेर्ने छ,’ उनले भने।

उनले कहिलेसम्म नयाँ भवनमा सर्ने भन्ने टुंगो नभएको बताए। ‘पहिला काम सकेर हामीलाई भवन बुझाउनुपर्छ,’ उनले भने, ‘अनि सर्ने हो, अझै काम नै सकिएको छैन, त्यसैले कहिले सर्ने केही टुंगो छैन।’

विभाग भन्छ : ताकेता गर्दै छौँ

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बाँकी काम छिटो सक्न पटक पटक ठेकेदारलाई ताकेता गर्दै आएको दाबी गरे।

उनले भने, ‘ठेकेदारलाई पटक पटक विभागमा बोलाउने, पत्राचार गरेर, त्यहीँ म आफैँ २ पटक गएँ, डिजीसाप पनि गएर छिटो काम सक्न ताकेता गरिरहनु भएकाे छ।’ उनका अनुसार गत फागुन महिनाभित्रै काम सकेर सर्ने वातावरण मिलाउने सहमति भएको थियो तर ठेकेदारले कामै सकेन।

‘पहिला के कारणले ढिला भयो, थाहा भएन, हामी आएपछि, डेढ वर्षदेखि ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘अब धेरै काम छैन, थोरै बाँकी छ। अब छिट्टै काम सकिएला।’

(यो पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.