|

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँ झैँ विद्यालय जान सडक छेउमा उभिएका थिए। बिहान साढे ९ बजे सडक छेउमा ६ जना बालबालिका स्कूल जान विद्यालयको पोशाक लगाएर तयारी अवस्थामा थिए।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माविमा अध्ययनरत विद्यार्थी खाना खाएर सडक छेउमा बस कुरेर उभिएका थिए। 

यत्तिकैमा अचानक डुम्रेतर्फबाट हुँइकिएर आएको एउटा ट्रकले ती बालबालिकालाई ठक्कर दियो। ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एउटा घरमा समेत ठक्कर दियो।

ठक्करबाट स्कूल जान तयार रहेका ६ जना विद्यार्थी र अन्य २ जना घाइते भए। विद्यालय जान हिँडेका विद्यार्थी घाइते भएपछि अस्पताल जान बाध्य भए। घाइते अवस्थामा उनीहरूलाई तत्कालै चितवनको पुरानो मेडिकल कलेज पठाइयो।

घाइतेमध्ये १२ वर्षीय आयुष भुजेलको उपचारका क्रममा मृत्यु भयो। दुर्घटनामै घाइते ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

‘बालबालिका विद्यालय जाने तयारीसहित बसिरहेका थिए, एक्कासी ट्रक आएर ठक्कर दियो। एकजना बाबुको मृत्यु भयो। अन्य ५ जना बालबालिका घाइते अवस्थामा उपचाररत छन्’‚ बन्दीपुर–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले भने, ‘विद्यालय हिँडेका बालबालिका अस्पताल जानुपर्दा दुःखद भयो।’

ट्रकको ठक्करबाट ३ जनाले ज्यान गुमाएपछि याम्पा आँधीखोला शोकमा डुबेको लामिछानेले बताए। घरदेखि १५-२० मिनेटको दूरीमा रहेको विद्यालयमा बालबालिका सधैँ गाडी चढेर जाने गरेका थिए।

दुर्घटनामा सोही विद्यालयमा अध्ययन गर्ने ६ वर्षीया आयुषा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समीर भुजेल र ५ वर्षीय सन्तोष भुजेल घाइते छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.