|

तुलसीपुर : दाङको दङ्गीशरण गाउँपालिका–३ मा रहेको थारू सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ। हिजोआज दैनिक एक हजारको हाराहारीमा दर्शककले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन्।

‘दैनिक एक हजारले अवलोकन गर्ने गरेका छन्’, सङ्ग्रहालय व्यवस्थापन समितिकी उपाध्यक्ष शान्ता चौधरीले भनिन्। उक्त सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ। थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन्।

यस्ता सामग्री हेर्न दैनिक मानिसको घुइँचो लाग्ने गरेको छ। समाजका सबै थारू समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ। उनका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभई बाहिरबाट पनि आउनेको सङ्ख्या बढ्दो छ। थारू समुदायका पुराना सिक्का, गरगहना, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ।

अहिलेसम्म सङ्ग्रहालयका लागि करिब रु. ६ करोड खर्च भइसकेको र थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ। विसं २०७५ देखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा स्थानीयवासीले रोजगारी पनि पाएका छन्। थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ। थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरिएका छन्।

थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ। नेपालका सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ।

सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायत सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ। यी सबै सामान नेपालका थारू बाहुल्य ठाउँबाट सङ्कलन गरी ल्याइएको हो। उक्त सङ्ग्रहालय पाँच बिघा जमिनमा फैलिएको छ।

सङ्ग्रहालयमा सामान्य प्रवेश शुल्क रु. ५० रहेकामा अपाङ्ग, विद्यार्थी र एकल महिलाका लागि भने रु. ३० लिने गरिएको छ। सङ्ग्रहालयबाट दैनिक रु. ४० हजार जति आम्दानी हुने गरेको उपाध्यक्ष चौधरीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.