|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पोलहरूमा भएको अव्यवस्थित तार व्यवस्थापन गर्नमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट असहयोग भएको भन्दै महानगरले आफ्नै अधिकार प्रयोग गरी तार व्यवस्थापन गर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालबाट तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको जानकारी उनले दिएका हुन्।

उनले भनेका छन, ‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ। यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसविपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाउँदै यस्तो कार्य नगर्न आदेश प्राप्त भयो।’

उनले समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताए। ‘आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ,’ उनले भने,‘शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौँ। यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाईंहरूले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्छौ।’

उनका अनुसार गत वर्षमात्रै अव्यवस्थित तारहरूका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ छ। उनले भने,‘शहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला,त्यसमा हजारौं मिम बनेका छन्, ट्रोल भएका छन्,भौतिक रूपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्। यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो। त्यसतिर कुनै सुनुवाइ भएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.