|

सल्यान : सल्यानको दार्मा गाउँपालिकाले पालिकाभित्र रहेका सुनौलो हजार दिनका गर्भवती र सुत्केरी आमालाई पोषिलो खाद्य परिकार सहितको पोषण झोला प्रदान गरेको छ। आमा र बच्चाको चौतर्फी वृद्धि विकासमा पोषिलो खानेकुराको निकै महत्त्व रहने भन्दै पोषणमैत्री पालिका बनाउन पोषण झोला उपचार दिइएको हो।

कार्ययोजना बनाएर पोषणमैत्री पालिका बनाउन विभिन्न सूचक पूरा गर्न र कुपोषण हटाउन पोषण झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पोषण झोलामा सर्वोत्तम पिठो, दाल, नुन, साबुन, नङकट, अण्डा लगायतका सामग्री रहेका छन्। यस्तै ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि पोषिलो सर्वोत्तम पिठो वितरण गरिएको छ।

गाउँपालिकाभित्रका सबै वडामा गएर आठ सय सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए। यस्तै पालिकाभरका ६ महिनादेखि २ वर्षसम्मका साढे १२ सय बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिने उनको कथन छ।

बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि २ वर्षको बीचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरूका लागि सन्तुलित र पौष्टिक तत्त्वयुक्त खानपिनका लागि पोषण झोला उपहार दिइएको उनको भनाइ छ।

सुरक्षित रूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जॉँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउन हरेक आमा तयार हुनुपर्ने जस्ता सन्देश दिइएको बस्नेतले बताए।

उनले भने, ‘यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको बढी प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका सुनौलो हजार दिनका आमालाई सचेत गराइरहेका छौं। समुदायमा नै पोषिलो खानेकुरा पकाउने र खाने तरिका पनि सिकाउँदै आएका छौं।’

गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बच्चालाई शक्ति दिने, शारीरिक वृद्धि विकास हुने, रोगसँग लड्न सक्ने, शरीरको तन्तुहरूको विकासका लागि विभिन्न पौष्टिक आहारा खानुपर्ने बताए। पालिकाले पोषिलो खानेकुरा नमूनाका रूपमा वितरण गरेको बताउँदै उनले भने, ‘घरमै उत्पादन भएको अर्गानिक खानेकुरामा जोड दिनु आवश्यक छ।’ 

सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको शिकार भइरहेकाले पोषणयुक्त खानेकुरा खानु अनिवार्य भएको उनको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.