|

गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान गर्ने अनुमति दिएको हो।

रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाई भाडा प्रतिव्यक्ति ६ हजार रूपैयाँ लाग्नेछ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उड्ने तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए। रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने उनले बताए।

काठमाडौंबाट रेसुङ्गासम्मको उडान अवधि ५० मिनेटको छ। रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१० को सिमीचौरमा पर्छ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो हिँडेपछि विमानस्थल पुग्न सकिन्छ। विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिटे जहाजले परीक्षण उडान गरेको थियो।

गत पुस २४ मा तारा एयरको १८ सिटे जहाजले परीक्षण उडान गरेको थियो। विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाज पनि अवतरण गरेको थियो।

०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। ०६३ सालमा शिलान्यास भए पनि विमानस्थल निर्माण भने २०७२ सालपछि मात्र सुरु भएको थियो।

रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५ सय २० मिटर र चौडाइ २० मिटर रहेको छ। १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी अधिग्रहण गरिएको थियो।

हालसम्म विमानस्थल निर्माणमा करिब ३५ करोड खर्च भईसकेको छ। रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर स्थानान्तरण र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ।

विमानस्थलमा नियमित सञ्चालन भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरुले सिद्धबाबाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने स्थानीयको अपेक्षा रहेको छ।

विमानस्थलबाट गुल्मी जिल्लासँग जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङजाका बासिन्दाले हवाई सेवा लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.