|

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ।
शैक्षिक विकास र शैक्षिक गुणस्तरका लागि विभिन्न योजनाहरू प्रयोग गरिरहेको गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र समयानुकूल शिक्षा प्रदान गर्नको लागि यो सुविधा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।

उनका अनुसार आधारभूत तहअन्तर्गत कक्षा आठ उत्तीर्ण गरेपछि कक्षा नौ मा बाली विज्ञान विषयमा भर्ना भएका विद्यार्थीलाई वार्षिक ३६ हजार रुपैयाँ दिने निर्णय भएको हो।

गाउँपालिकाले यसै वर्षदेखि वडा नं. ५ लेकफाँटमा रहेको ग्रामप्रकाश माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयमा अध्यापन गर्न सुरु गरेको छ। सोही विद्यालयमा भर्ना भई कृषि क्षेत्रका लागि आवश्यक सीप सहितको प्राविधिक शिक्षा लिने विद्यार्थीहरूको लागि छात्रवृत्ति रकम दिने निर्णय भएको हो।

‘हामीले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकूलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरिरहेका छौँ। गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि वार्षिक ३६ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ’, अध्यक्ष आचार्य भन्छन्, ‘प्राविधिक शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न गाउँपालिकाले यो अवधारणा ल्याएको हो। घोकाई र सिद्धान्तको शिक्षाले बेरोजगारी समस्या बढेको छ। कम्तीमा पनि प्राविधिक शिक्षा सुरुवात गरेपछि प्राविधिक काम त उनीहरूले पाउने छन् भनेर गाउँमा नै प्राविधिक शिक्षा अध्यापन गर्न थालिएको हो।’ विद्यालयमा आवासीय रूपमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयले छात्रवृत्तिका लागि गाउँपालिकामा सिफारिस गरेपछि त्यो रकम विद्यार्थीहरूले प्राप्त गर्ने छन्।

नेपाल कृषि प्रधान देश भए पनि कृषि क्षेत्रको विकास हुन नसकेको अवस्थामा यस विद्यालयमा सुरु भएको कृषि प्राविधिक विषयको अध्ययनले दक्ष र योग्य प्राविधिक उत्पादन गर्नमा सहयोग पुग्ने गाउँपालिकाका विश्वास छ। त्यसमा पनि जलजला गाउँपालिका कृषि उत्पादनका हिसाबले जिल्लामा नै अगाडि रहेकोले पनि गाउँपालिकामा कृषिका प्राविधिकहरूको माग धेरै हुने गरेको छ। तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहँदै आएको जलजलामा आवश्यकता अनुसार प्राविधिकहरू तयार पार्न सकेमा गाउँपालिकाले कृषिमा पनि थप विकास गर्न सक्ने अध्यक्ष आचार्यको भनाइ छ।  

सरकारको ‘एक पालिका एक प्राविधिक विद्यालय’ अन्तर्गत कक्षा नौदेखि १२ सम्म ग्रामप्रकाश मा.वि.मा उक्त विषयमा पठनपाठन हुने भएको हो। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक विषय अध्ययनका लागि हालै मात्र स्वीकृत प्राप्त भएको र चालू शैक्षिक सत्र २०८० बाट पठनपाठन सुरु हुन लागेको विद्यालयका प्रधानाध्यापक भवानी शङ्कर पौडेलले बताए।

अहिले कक्षा आठ उत्तीर्ण गरी नौ मा चढेका ३९ जना विद्यार्थीहरू कृषि विषय लिएर अध्ययन गर्न चाहेका र अन्यत्रका विद्यालयबाट समेत विद्यार्थीहरू आउने उनको भनाई छ। गाउँपालिकाले पनि स्थानीय तहमा रहेका अन्य विद्यालयका विद्यार्थीहरूलाई बाली विज्ञान अध्ययन गर्न मन लागेको भएमा ग्रामप्रकाश मा.वि.मा जान तथा टाढाबाट जानेहरूका लागि आवासीय सुविधा समेत रहेको भन्दै अध्ययनका लागि प्रोत्साहन गरिरहेको छ।

‘जुन ठाउँमा जस्तो खालको शिक्षाको आवश्यकता परेको छ त्यहाँ त्यस्तै खालको शिक्षा प्रदान गर्ने हो भने शैक्षिक बेरोजगारीको समस्या हल गर्नका लागि केही हदसम्म बल पुग्छ’, प्रधानाध्यापक पौडेल भन्छन्, ‘गाउँ गाउँका नागरिकहरू जागिरले भन्दा कृषिले धानिएकाले उनीहरूलाई प्रविधिमा जोड्दै व्यावसायिक कृषक बनाउनुपर्छ। त्यसका लागि यो प्राविधिक शिक्षाले काम गर्ने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.