|

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकमा नै सवारीको यान्त्रिक अवस्थाको परीक्षण गर्ने अभियानको थालनी गरेको छ।

यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा छड्के रूपमा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरी परीक्षण गर्न थालिएको हो। गत वैशाख २५ देखि सुरू भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुङ्गामा पर्वत, बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारीहरूको परीक्षण गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सप्ताहव्यापी अभियान अन्तर्गत ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरू गरिरहेको भए पनि सवारीको यान्त्रिक अवस्था जाँच्ने झनै महत्त्वपूर्ण छ। सवारी दुर्घटनामा धेरै कारणहरूमध्येको एउटा यान्त्रिक अवस्था सही अवस्थामा नरहनु पनि रहेकाले सवारीका धनी, चालक र सहचालकलाई सचेत गराउनको लागि परीक्षण अभियान थालिएको हो।

जिल्ला ट्राफिक  प्रहरी कार्यालय पर्वतले यातायात व्यवस्था कार्यालय बागलुङसँग सहकार्य गरेर यातायात व्यवस्था कार्यालयमा रहेका तथा आवश्यकता अनुसार बाहिरको जनशक्ति समेत परिचालन गरेर सडकमा गुड्दै गरेका सवारीलाई रोकेर सवारीको अवस्थाको बारेमा परीक्षण गरिएको हो। सवारीको परीक्षणको क्रममा वर्षा भइरहेको बेलामा सवारी चलाउन सहज बनाउन वाइपर नचल्ने अवस्थामा रहेको, अनावश्यक रूपमा सवारीको स्वरूप परिवर्तन गरेको, आवश्यकता र समयानुसार सवारीको सर्भिसिङ नगरेको लगायतका समस्याहरू भेटिएका छन्।

अभियानको सुरूवाती चरणमा झन्डै ७५ वटा सवारीहरूको इन्जिन, टायर, ब्रेक, क्लच, ह्यान्डल, एक्सीलेरेटर, ब्याट्री लगायतका भाग र यन्त्रको परीक्षण गरिएको थियो। ‘हरेक दिन हरेक पटक ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्थाको बारेमा जाँचेर आउजाउ गराउन त सम्भव हुँदैन नै। तर हामीले सवारीका धनी, चालक, सहचालक र आवश्यकता अनुसार यात्रुहरू पनि आफू रहेको सवारीको यान्त्रिक अवस्थाका बारेमा चनाखो भएको हुनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ,’ ट्राफिक प्रहरी प्रमुख निउरे भन्छन्, ‘सवारी र चालकका कागजपत्रको परीक्षण गरेजस्तै बेला बेलामा यन्त्र र उपकरणको अवस्था कस्तो अवस्थामा रहेको छ भन्ने परीक्षण गर्ने छौँ। सवारी जाँच गर्ने बेलामा चालक र सञ्चालकहरूलाई यान्त्रिक परीक्षणको महत्त्वको बारेमा सम्झाएर छाडेका छौँ।’

वैशाख ३१ गतेसम्म सञ्चालन हुने ट्राफिक सप्ताह कार्यक्रम अभियान अन्तर्गत ट्राफिक प्रहरी पोस्टहरूबाट लघु सचेतना कार्यक्रम सञ्चालन गर्ने, ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने तथा लामो दुरीका सवारीमा ट्राफिक सप्ताह सुरू ब्यानर टाँस गर्ने, चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, स्वयं सेवकबाट वाचन गर्ने, स्वयंसेवकबाट पैदल यात्रुलाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालक र सह चालकलाई सम्झाई बुझाई गर्ने, माइकिङ गर्ने, सडकमा रहेका खाल्डा खुल्डी पुर्ने र अव्यवस्थित पार्किङ हटाउने अभियान चलाइएको छ।

ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस गर्ने, मास्क वितरण गर्ने र छत तथा हुटमा यात्रु प्रशिक्षण कार्यक्रम, सदरमुकाम लक्षित चालक सहचालक प्रशिक्षण कार्यक्रम, सडक प्रयोगकर्ता र विद्यार्थीहरूलाई प्रशिक्षण दिने, सवारी चालकहरूको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिएको प्रहरी नायव निरीक्षक निउरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.