|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारतसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन्।

उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताए। सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि उनले जानकारी गराए।

उनले भने‚ ‘सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन, रासायनिक मलमा अनुदान दिनुको साथै भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु। यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन मैले बेलैमा कृषि मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको छु। र कृषि मन्त्रालयबाट यससम्बन्धी काम अगाडि बढी पनि सकेको छ। यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हितलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइने कुरा पनि म जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरुको हितलाई उच्च प्राथमिकता दिइने स्पष्ट पारे। उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.