|

धनगढी : सुदूरपश्चिममा आज प्रदेश सरकार विस्तार हुने जनाइएको छ। हिजो सरकार विस्तार हुने भनिएकोमा दलहरूबीच सहमति नजुटेपछि आज विस्तार गरिने भएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सरकारबारे निर्णय लिन समय माग गर्दै २ मन्त्रीसहित एक राज्यमन्त्रालय मागेपछि हिजो सरकार विस्तार हुन नसकेको हो।

सुदूरपश्चिममा अहिले ४ मन्त्रालय मन्त्रीविहीन छन्। जसमा मुख्यमन्त्री शाहले आज सामाजिक विकास मन्त्रालयमा माओवादीबाट झपटबहादुर साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै रमेशसिंह धामीलाई नियुक्त गर्ने जनाइएको छ। साउद अछाम र धामी कैलालीबाट निर्वाचित भएका थिए। माओवादीकी गीता देवी माल पनि राज्य मन्त्रीमा नियुक्त हुनेछिन्। उनको मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री बन्ने करिब पक्कापक्की जस्तै छ। नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ।  लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न संसदीय दलको कार्यालयले मुख्यमन्त्रीलाई सिफारिस गरेको भए पनि सामाजिक विकास मन्त्रालय माओवादीको भागमा परेपछि लक्ष्मण किशोर चौधरी मन्त्री बन्न नसक्ने सम्भावना छ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भने कांग्रेसका पृथ्वी बहादुर सिंहलाई दिने कांग्रेसको तयारी छ। यसबारे आजै संसदीय दलले निर्णय गर्ने बताइएको छ।

माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ गते कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए। त्यसपछि अहिलेसम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्री शाहले आजै साझसम्म सरकारलाई पूर्णता दिने दाबी गरेका छन्।

प्रदेश सभा बैठक बस्दै

आजै सुदूरपश्चिम प्रदेश सभा बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। दिउँसो २ बजे बस्ने बैठकको कार्यसूची तयार गर्न ११ बजे सर्वदलीय बैठक बस्ने भनिएको थियो।

तर अहिलेसम्म बस्न सकेको छैन। आज करिब अढाई महिना पछि प्रदेश सभाको बैठक बस्न लागेको हो। यसअघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ल। त्यसपछि आज सम्म अर्को बैठक बसेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.