|

भक्तपुर : मध्यपुर ठिमी–३ र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमानामा पर्ने हनुभन्ते खोलामा भएको विवादपछि सो क्षेत्रमा रहेको जग्गा दुइ पक्षले आफ्नो भएको दाबी गरेका छन्।

शनिबार राति उक्त क्षेत्रमा डोजरले साविक खोला जुन ठाउँमा थियो सोही ठाउँमा फर्काएपछि अहिले विवाद चर्किएको छ। ठिमीमा जग्गा पर्ने धनी र सूर्यविनायकपट्टि जग्गा पर्ने धनी दुवैले आ–आफ्नो दाबी गरेका छन्।

सूर्यविनायकतर्फका जग्गाधनी वडा नं. ३ का अध्यक्षसमेत रहेका शिवनारायण खत्री २०११ सालको नापीमा खोला जुन ठाउँबाट बगेको थियो सोही ठाउँबाट आफूहरूले खोला फर्काएको दाबी गर्छन्।

उनका अनुसार ०५४ सालमा बाढी आएर खोलाले धार परिवर्तन गरी आफूहरूको जग्गाबाट बगेको थियो। उनको भनाइमा अहिले सोही ठाउँबाट खोला फर्काउँदा विवाद गर्नुको कुनै तुक छैन। सो समयमा किसानले खोलाको धार परिवर्तन गर्न नसकेको र सोही ठाउँबाट खोला बगेको थियो। अहिले स्थानीय किसानले साविककै ठाउँबाट खोला बगाएका हुन्।

२०६९ असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोलालाई साविककै स्थानबाट बग्न दिई उक्त क्षेत्रमा रहेको पुल संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय र उपत्यका नगर विकास प्राधिकरण र मध्यपुर ठिमीलाई लिखित आग्रह गरे पनि कार्यान्वयन भएको थिएन।

मध्यपुर ठिमीतर्फका जग्गाधनी विजयकृष्ण श्रेष्ठ २०५४ सालमा खोलाले बहाव परिवर्तन गरेको कुरा झूठो भएको बताउँछन्। खोला धेरै वर्षदेखि सोही ठाउँबाट बगेको उनको दाबी छ। बालकोटतर्फका स्थानीयले सस्तोमा जग्गा खरिद गरी अहिले महँगोमा बिक्री गर्न खोलाको बहाव परवर्तन गरेको उनको आरोप छ।

सूर्यविनायक नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले यस विषयमा गम्भीर छलफल गरी सत्यतथ्य पत्ता लगाई कारबाही अघि बढाउने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.