|

काठमाडौँ : किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रीलंकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौँ स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न खेलमा श्रीलंकाले किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौं स्थान हात पारेको हो। एकपक्षीय खेलमा श्रीलंकाले कीर्गिस्तानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो।

त्यसैगरी माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ। शनिवार सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको हो। माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो।

बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुंग्याइएको छ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानका लागि आइतवार नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे शुरु हुनेछ। नेपाल दोस्रो सेमिफाइनल खेलमा काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो।

उज्वेकिस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। उपाधिका लागि आइतवार नै भारत र काजकस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.