|
फाइल तस्वीर

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिंह नै कायम हुने भएका छन्। सर्वोच्च अदालतले अस्पतालको अध्यक्ष सिंहको नियुक्ति खारेज नगर्न अन्तरिम आदेश दिएसँग उनी नै अध्यक्ष कायम हुने भएका हुन्।

सिंहले नियुक्ति खारेज भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ को उपनियम २ अनुसार नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ।

सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन्त्री मोहनबहादुर बस्नेत र डडेल्धुरा अस्पताल विकास समितिविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए। वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो।

तर जेठ ३ गते उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो। सो दिन अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए।

मन्त्री बस्नेतले सिंहलाई कानुनविपरीत हटाएर ओझालाई नयाँ अध्यक्ष नियुक्त गरेका थिए। अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को (२) अनुसार दुवै जनालाई नियुक्ती दिइएको छ।

गठन आदेशको दफा २ अनुसार नियुक्त अध्यक्ष तथा सदस्यहरूको समयावधि दफा ३ को (३) मा तीन वर्षको हुने उल्लेख गरिएको छ। मन्त्री बस्नेतले नियुक्त भएको १० दिनमा नै प्रधानमन्त्रीले गरेको निर्णय बदर गर्दै सिंहलाई अध्यक्षबाट हटाएका थिए।

गठन दफा ६ ले पद रिक्त हुने अवस्था राजीनामा दिएमा, पदावधि पूरा भएमा, मृत्यु भएमा र नेपालको कानुनविपरीत भएमा वा गैह्र कानुनी काममा संलग्न भएको पुष्टि भएमा भन्ने उल्लेख गरेको छ।

दफा ३ को उपदफा ४ मा उपदफा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटाउ नसक्ने अधिकार दिइएको छ तर हटाउनु प्रमाणित कारण उल्लेख गर्नुपर्ने छ साथै हटाउनु पूर्व स्पष्टीकरणको मौका पनि दिनुपर्ने उल्लेख छ।

‘उपदफा ३ मा जुनसुकै कुरा लेखिएता पनि अध्यक्ष वा मनोनित सदस्यले आफ्नो पद अनुरुप काम नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।’ उपदफा ४ मा उल्लेख छ।

तर सोही दफाको उपदफा ५ मा त्यसरी हटाइनुअघि अध्यक्ष वा सदस्यहरूलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ। मन्त्री बस्नेतले गठन आदेश विपरीत सफाइको मौका नै नदिइ सिंहलाई गैह्र कानुनी रूपमा अध्यक्षबाट हटाएर हतारमा नयाँ अध्यक्ष नियुक्त गरेका थिए।

सिंह यसअघि दुई कार्यकाल अस्पताल विकास समितिको अध्यक्ष भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.