|

विराटनगर : स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा विभिन्न दल सम्मिलित राजनीतिक संयन्त्र गठन भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा विराटनगरमा बिहीबार भएको सर्वदलीय छलफलले निर्वाचनको क्रममा आउन सक्ने समस्या र त्यसको  समाधान गर्दै निर्वाचनलाई व्यवस्थित बनाउन संयन्त्र गठन भएको हो। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरमसहित १३ दलका प्रतिनिधि सहभागी छन्।

निर्वाचनका क्रममा जिल्लामा रहेका तीन सय मतदान केन्द्र र ६ सयभन्दा बढी मतदानस्थलमा निर्वाचन सम्बन्धी समस्या आएमा त्यसलाई तत्काल समाधान गर्न संयन्त्रले काम गर्नेछ। संयन्त्रले मतदान प्रक्रियालाई व्यवस्थित गर्न निर्वाचन कार्यालयसँग समन्वय गर्ने बताइएको छ।

त्यसक्रममा निर्वाचन सम्बन्धी आचारसंहिता कार्यान्वयन थप प्रभावकारी बनाउनु पर्ने, शुक्रबार हुने उम्मेदवारी मनोनयनको समय व्यवस्थापन, साझा चुनाव चिह्नका बारेमा दल र निर्वाचन कार्यालयबीच छलफल भएको थियो।

छलफलमा भारतीय नम्बर प्लेटका गाडी निर्वाचन प्रचार–प्रसारमा प्रयोग भएको, आचारसंहिता विपरीत पार्टीका चुनाव चिह्नअंकित भेस्ट, टोपी तथा मापदण्ड विपरीत ठूलाठूला झण्डा पर्चा पम्पलेट प्रयोग भएको गुनासो आएको थियो।

त्यसक्रममा मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन दलहरूको भूमिका महत्वपूर्ण हुने बताए। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद साञ्जेलले आचारसंहिता विपरीत जाने दललाई कारबाही गर्ने बताउँदै आचारसंहिताको पूर्ण पालना गर्न दलहरूलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.